घरेलु हिंसाबाट पीडित महिलाको संख्या बढ्दो

0
Shares

शोभा परियार,काठमाडौं ।

राष्ट्रिय महिला आयोगमा आर्थिक वर्ष २०७७/७८ मा १ हजार ५ सय ७० वटा उजुरी दर्ता भएको छ । वागमती प्रदेशमा सबैभन्दा बढी र सबैभन्दा कम उजुरी कर्णाली प्रदेशमा परेको छ ।

प्रादेशिक संरचनागत रूपमा हेर्दा प्रदेश–१ मा ७७ उजुरी, मधेस प्रदेशमा ७७, वागमती प्रदेशमा १ हजार १ सय ७१, गण्डकी प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ८०, कर्णाली प्रदेशमा २४, सुदूरपश्चिम प्रदेशमा ५३ उजुरी छ भने अरू ३० वटा प्रदेश नै नखुलेको उजुरी परेको राष्ट्रिय महिला आयोगकी कानुन अधिकृत उर्मिला रोक्काले बताउनुभयो । गत आर्थिक वर्षको उजुरी ९ सय फछ्र्यौट गरेको छ । बाँकी उजुरी भने केही मिलापत्र हुने क्रममा रहेको र केही कानुनी जटिलताका कारण फछ्र्यौट गर्न सकेको छैन ।

घरेलु हिंसाअन्तर्गत बहुविवाह, मानसिक यातना, दाइजो नल्याएको, नागरिकता, लिभिङ रिलेसनसिपल, जन्मदर्तालगायत विषयमा उजुरी परेको राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराईले बताउनुभयो । ‘उजुरीका मुद्दालाई किनारा लगाउन हामीसँग कानुन अभाव र कानुनमा भएका कुराहरुलाई कार्यान्वयन गर्ने पाटो पनि कमजोर भएको छ’, उहाँ भन्नुहुन्छ– ‘जसले गर्दा कानुनी जटिलतालाई जति सक्दो सरकारले पूर्णता दिनुपर्ने देखिन्छ ।’

भूमि व्यवस्थापन मन्त्रालयले देशैभरिका मालपोत कार्यालयमा मंसिर १४ गते महिलालाई पनि अंश दिनका लागि कानुनमा भएकाले त्यसलाई कार्यान्वयन गर्न पत्र पठाइसकिउको भट्टराई बताउनुहुन्छ ।

महिला आयोगमा दैनिक एक दिनमा १० देखि १५ वटा उजुरी आउने गरेका छ । धेरैजसो २० देखि ३० वर्ष उमेर समूहका महिला हिंसाबाट पीडित भएका छन् । अशिक्षा, राज्यको उदासीनता र पितृसत्तात्मक सोचका कारण राज्यका विभिन्न निकायमा महिलाको समान सहभागी नभएकाले पनि महिला हिंसा बढेको उहाँको कथन छ । ‘यसलाई रोक्न महिला, पुरुषलाई समान व्यवहार सर्वप्रथम घरबाट शुरू हुनुपर्छ’, भट्टराई भन्नुहुन्छ– ‘राज्यले पनि उचित खालको शिक्षाको विकास गर्नुपर्यो । सीपमूलक शिक्षाको विकास हुनुपर्छ । जनचेतनामूलक कार्यक्रम ७७ वटै जिल्लामा पुर्याउनुपर्छ ।’

आयोगमा आर्थिक वर्षको शुरुआतदेखि पुस मसान्तसम्म हेर्दा ७ सय १३ उजुरी परेको राष्ट्रिय महिला आयोगका सूचना अधिकारी रोशन अर्याल बताउनुहुन्छ । राष्ट्रिय महिला आयोगले महिला हिंसाका घटनालाई अध्ययन, अनुगमन, विश्लेषण, सिफारिस तथा महिलाका बारेमा भएका कानुनी कुरा, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रावधानको अध्ययन गर्ने, कानुन अपूर्ण भए सच्याउनका लागि अघि बढ्ने र कार्यान्वयन नभएका कुरालाई कार्यान्वयन गर्न लगाउने काम गर्ने गर्दछ ।

तर, पछिल्लो समय विभिन्न प्रकृतिका गम्भीर खालका महिला हिंसाका घटना समाजमा बढिरहेका छन् । जसले गर्दा आयोगमा उजुरीको संख्या बढिरहेको छ । पछिल्लो समयमा बढ्दै गएका गम्भीर प्रकृतिका महिला हिंसाविरुद्धका घटनामा आयोगले प्रत्यक्ष रूपमा पीडितको न्यायका लागि आवाज आयोगले उठाइरहेका सूचना अधिकारी अर्याल भन्नुहुन्छ ।

पीडितले हेल्पलाइनको शुल्क नलाग्ने नम्बर ११४५ बाट २४ घण्टा उजुरी दिन मिल्ने र पीडित आफैं प्रत्यक्ष आयोगमा उपस्थित भएर पनि उजुरी दर्ता गर्न सक्छन् । हेल्पलाइनमार्फत आयोगले उजुरी सुन्ने, तत्काल उद्धार गर्ने, परामर्श दिने र पुनःस्थापनासमेत गर्ने गरेको आयोगकी कानुनी परामर्शकर्ता राधा तण्डुकारले बताउनुभयो । यसमार्फत हिंसा पीडितले मात्रै नभएर हिंसा देख्ने साक्षीले समेत उजुरी दिन सक्नेछन् । शिक्षाको कमीका कारण महिला हिंसामा पर्ने र अभिभावकहरुले समेत छोरा र छोरीलाई दिने शिक्षामा समेत विभेदपूर्ण रहेका कारणले गर्दा घटना बढेको उहाँको कथन छ ।