विकासको गति स्वीकार गर्छौं : मेयर शाक्य

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले सोमबार इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गर्नुभएको छ । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार मेयर शाक्यले पार्कको शिलायास गर्नुभएको हो । २ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपियाँमा सम्झौता भएको छ । यसको लागत १ करोड ८० लाख रुपियाँ गरिएको थियो ।

शिलान्यासपछि बोल्दै मेयर शाक्यले प्राचीन इतिहास बोकेको शहर सहरी विकासको क्रमसँगै समयका हरेक खण्डमा बिग्रिँदै गएको उल्लेख गर्नुभयो । ‘समय समयमा सहर बिग्रियो । त्यसको अपजस कसलाई दिने? राम्रा काम भने यो मैले गरेको भनेर दाबी गर्ने गरिन्छ ।’ शाक्यले पुरानो उही अवस्थामा बसिरहने हो कि अघि बढ्ने हो ? यो प्रश्नको जवाफ आवश्यक भएको उल्लेख गर्नुभयो ।

नदीमा असला माछा हुने गरी काम गर्छौं । १७ वडाका अध्यक्ष नवीन मानन्धरले भन्नुभयो– ‘असला माछा हुनलाई शुद्ध पानी चाहिन्छ । हामी समुदाय र सरोकारवालासँग मिलेर विष्णुमती नदीलाई असला माछा हुने नदी र नदी तथा जल सम्पदाको समृद्धिलाई वडाको बिम्बका रूपमा विकास गर्न चाहन्छौं ।’

पूर्वमन्त्री शुशिलकुमार श्रेष्ठले खुसिंबु टाउन प्लानिङ् सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजनाको प्रशंसा गर्नुभयो । काठमाडौं महानगरमा जनप्रतिनिधि पद वहाली भएपछि सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन तथा पार्क निर्माण कार्यलाई नीति, बजेट तथा कार्यक्रमले प्राथमिकता पाएका छन् ।

महानगरभित्र हुने यसप्रकारका कामसँगै नगर—नगर साझेदारी, आन्तरिक भगिनी सम्बन्ध भएका सहर सबैसँग यही शीर्षक अर्थात सार्वजनिक जग्गा संरक्षण, पार्क तथा धाम निर्माण, पर्यापर्यटन कार्यक्रममा सहयोग गरेको छ । महानगरले यसरी साझेदारि गरेका नगरहरूमा काठमाडौंका सबै पालिका हुन् । भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिका रहेका छन् । यसै गरी भगिनी सम्बन्ध भएका शहरहरूमा धनकुटाको पाख्रीबास, नवलपरासीको सुस्ताघाट पश्चिम रामग्राम, सिन्धुपाल्चोकको मेलम्ची, जुम्लाको चन्दननाथ र डडेल्धुराको अमरगढी नगर रहेका छन् ।

महानगरको पूर्वाधार निर्माण विभागका प्रमुख रामबहादुर थापाकाअनुसार पहुँचयुक्त सार्वजनिक शौचायल, चौतारो, ढुङ्गेधारा, खुल्ला व्यायामशाला पार्कका विशेषता हुन् ।