अमेरिकाबाट आयो कन्हैया सिंहको म्युजिकल स्टोरी फिल्म (भिडियोसहित)

0
Shares

१३ वर्षदेखि अमेरिका बस्दै आएका लोकप्रिय गायक, गीतकार तथा संगीतकार कन्हैया सिंह परियारले अमेरिकाबाटै आफ्नो नयाँ गीत छोडी गयौ सार्वजनिक गरेका छन्। परियारले आफ्नै युट्युब च्यानलबाट म्युजिक भिडियोसहित सो गीत सार्वजनिक गरेका हुन्।

गायक परियारको स्वर, चित्रकार तथा गीतकार ज्योति प्रकाशको शब्द रचना र संगीत तथा विप्लव अधिकारीको संगीत संयोजन रहेको गीतको भिडियो अमेरिकाका सानदार शहरहरूमा छायांकन गरिएको छ। नेपाली म्युजिक भिडियोहरू अमेरिकामा छायांकन गरिए पनि भित्री शहरमा खिचिँदै आएकोमा परियारको यो नयाँ गीतको भिडियो भने व्यस्त शहरहरूमा खिचिएको छ।

ओम कर्माचार्यको निर्देशन, छायांकन र सम्पादन रहेको म्युजिक भिडियो विश्वप्रसिद्ध न्युयोर्क शहर, टाइम्स स्क्वायर, माउन्ट भेरनन, न्युयोर्कको ताल र विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ। म्युजिकल स्टोरी फिल्मका रूपमा तयार पारिएको म्युजिक भिडियोमा रमेश आचार्य, रुडी शर्मा र अपेक्षा सिंहले अभिनय गरेका छन्। भिडियोमा अविश्वास र शंकाका कारण प्रेमी प्रेमिकाबीच बढेको दूरी र टुट्न लागेको साथको वास्तविकता थाहा भएपछि पुनर्मिलन भएको कथा प्रस्तुत गरिएको छ। भिडियो अमेरिकी शहरमा तयार पारिए पनि गीत रेकर्डिङ भने काठमाडौंको ओपल स्टुडियोमा गरिएको छ।

करिब तीन सय आधुनिक, फिल्मी, राष्ट्रिय, प्रगतिशील, लोक, पप, लोक पपसँगै विभिन्न भाषा भाषिका गीतका धनी कन्हैयाले पछिल्लो समयमा जुन गीत सुनेर बोलको १६ जना नेपाली गीत संगीतका हस्तीका बारे गीत तयार गरेर वाहवाही कमाएका थिए। उनका नेपालगञ्ज बजारैमा, तिम्रो साथ, अपेक्षा, पिरतीको फूल, आलाप (तिमीले भुल्न सके पनि), आलाप–२ (मन हुनेको माया), आलाप–३ (वा रे वा) जस्ता एल्बम प्रकाशित छन्। उनी गीत गायन तथा संगीत सिर्जनाबाट दर्जनौं अवार्ड चुम्न सफल साहित्यकार, संगीतकर्मी र कलाकारहरूको अन्तर्राष्ट्रिय संस्था इनास अमेरिका च्याप्टरका अध्यक्ष रहेका छन्।