एउटै गाउँमा ६५ सगरमाथा आरोही

0
Shares

दोलखा ।

हिमाली जिल्ला दोलखाको बेदिङ गाउँका ६५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । ३ सय ११ जनसंख्या रहेको यो गाउँका ६ महिलासहित ६५ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको आरोही दावाछिरी शेर्पाले बताउनुभयो ।

दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने यो गाउँ च्छो रोल्पा हिमताल पदमार्गको मुख्य गन्तव्यसमेत हो । यो गाउँमा ८३ घरधुरी रहेका छन् । ६५ जना सगरमाथा आरोहीमध्ये ९ जनाको भने मृत्यु भइसकेको छ । बेदिङका मिङ्माछिरी शेर्पाले सबैभन्दा बढी २० पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पेमाछिरिङ शेर्पाले १९ पटक, निमागोम्बु शेर्पाले १८ पटक र आफूले १३ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दावाछिरीले बताउनुभयो ।

हिमाल आरोहणको अन्तर्राष्ट्रिय गाइडसमेत रहेका मिङ्माछिरी शेर्पाले बेदिङकै दावाटासी शेर्पा, पेम्बादोर्जे शेर्पा (ठूलो) र गेल्बु शेर्पा (मृत्यु भइसकेको) सहित सन् १९९७ मा नेपालबाट पहिलोपटक पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो शिखर केटुको समेत सफल आरोहण गरेका छन् । त्यसै गरी बेदिङकै मिङ्मागेल्जेन शेर्पा, दावातेन्जिङ शेर्पा र किलिपेम्बा शेर्पाले जाडो सिजनमा विश्वमै पहिलोपटक केटु हिमालको सफल आरोहण गरेको आरोही दावाछिरीले बताउनुभयो ।

च्छो रोल्पा हिमतालको मुख्य गन्तव्य नाका र हिमआरोहीहरूको गाउँ भएकाले अहिले यो क्षेत्रमा पर्यटकको चहलपहल निकै बढेको स्थानीय बताउँछन् । बेदिङका बासिन्दा जाडो मौसममा ना गाउँमा बस्ने गर्छन् । अहिले बेदिङ र ना गाउँमा धेरै सुविधा सम्पन्न होटल र होमस्टेसमेत सञ्चालनमा आएको स्थानीयको भनाइ छ ।

चिसो मौसममा अक्सिजनलगायतका समस्याका कारण धेरै पर्यटक र स्थानीयसमेत बिरामी पर्ने गरेको तर प्रतिबन्धित क्षेत्र भनेर यो क्षेत्रमा सरकारले अनुमतिबिना हेलिकोप्टर उडाउन नदिएकाले सडक मार्गले नछोएको यो ठाउँका बिरामीलाई स्वास्थ्य केन्द्रसम्म पुर्याउन समस्या भएको आरोही दाबाछिरीले बताउनुभयो ।

पर्यटक तथा स्थानीय बिरामी परेर हेलिकोप्टर ल्याउन अनुमति लिँदालिँदै कति जनाको त मृत्यु भइसक्ने दाबाछिरी बताउनुहुन्छ । यसरी अहिलेसम्म छ जनाको मृत्यु भइसकेको उहाँको भनाइ छ । बेदिङ र नामा अनुमतिबिनै हेलिकोप्टर उडाउने व्यवस्था गर्न माउन्ट एभरेस्ट समिटर्स क्लब, गुम्बा व्यवस्थापन समिति र ठेमुलुङ सामुदायिक वन बेदिङले संयुक्त रूपमा दोलखाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको माउन्ट एभरेस्ट समिटर्स क्लबका अध्यक्षसमेत रहेका आरोही दाबाछिरीले बताउनुभयो ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बेदिङबासीले हेलिकोप्टर उडाउने अनुमतिको विषयमा निवेदन दिएको तर त्यसको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनको नभएकाले गृह मन्त्रालयमा निवेदन पठाइने बताउनुभयो ।