फागुन १ देखि उपत्यकाका विद्यालय खुल्ने

सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली पनि हट्यो

0
Shares

काठमाडौं ।

आगामी फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरू खुल्ने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले हिजो आइतबार साँझ यस्तो निर्णय गरेको हो ।

त्यसै गरी जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि नै लागु हुने गरी सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको १४ बुँदे आदेशमा कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका १२ वर्षमाथि उमेर समूहका विद्यार्थीका हकमा मात्र नियमित रूपमा कक्षा सञ्चालन गर्ने र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा भने आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन आदेश दिइएको छ । त्यसै गरी सबै किसिमका परीक्षाहरू स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी, गराई जेड आकारमा सिट व्यवस्थापन गरी २०७८ फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने पनि आदेशमा उल्लेख छ ।

त्यसै गरी जिल्ला प्रशासन कार्यालयले पार्टी प्यालेस सञ्चालन गर्दा कुल क्षमताको ५० प्रतिशत वा बढीमा एक सय जना नबढ्ने गरी सञ्चालन गर्नुपर्ने, खेलकुद कार्यक्रम सञ्चालन गर्दा एकपटकमा कुल क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरी गतिविधि सञ्चालन गर्नुपर्ने आदेश पनि जारी गरेको छ ।

यसअघि आइतबार नै बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेबाट लागु हुने गरी विद्यालय खोल्न गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको थियो । सीसीएमसीसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य शैक्षिक क्रियाकलापसमेत सञ्चालन गर्न विभिन्न मन्त्रालयलाई ८ बुँदे सिफारिस गरेको गरेको थियो ।

सीसीएमसीसीको बैठकले सो क्रियाकलाप सञ्चालन गर्दा जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) ले कोभिड–१९ जोखिमसम्बन्धी विश्लेषण गरी आवश्यकताअनुसार स्मार्ट लकडाउन गर्न सक्ने जनाएको थियो । बैठकले डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पबलगायत रात्रीकालीन व्यवसाय राती १० बजेसम्म मात्र खोल्न दिन सिफारिस गरेको छ । त्यसै गरी सिनेमाहल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुटसललाई पनि खोल्न दिन सिफारिस गरेको थियो ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसहितको बैठकले सीसीएमसीले सिफारिस गरेका सबै क्रियाकलाप सञ्चालन गर्न डीसीसीएमसीको सहमति लिनुपर्ने निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गरेको थियो । सो सिफारिसलाई जिल्ला प्रशासन कार्यालयले अनुमोदन गरेको हो ।

सीसीएमसीले खोप कार्ड हराएका व्यक्तिहरूलाई सहज ढंगबाट खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यसै गरी सीसीएमसीले होल्डिङ सेन्टरबाट सेवा सञ्चालन गर्न नेपाल सरकारबाट भइरहेको निर्माण कार्यबाहेक तत्काल गर्नुपर्ने पहुँचरोड, कम्पाउन्ड वाल, माटो सम्याउने, सिमेन्ट ब्लक, धारा बत्ती जडानलगायतका सम्बन्धमा आवश्यक समन्वय, सहजीकरण र निर्माणका लागि सम्बन्धित प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको थियो ।