न्युज अफ नेपाल, जुम्ला ।
कर्णालीमा तेस्रो पटक वर्षासहित भएको भारी हिमपातले नाग्म–गमगडीसडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको हो । जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झण्डै तीन फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।
उनका अनुसार जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा छ । घाम लागेको खण्डमा सडक सुचारु गर्ने तयारी छ । उनले भने,’तत्काल भने सडक खुल्ने सम्भावना छैन ।’
यस्तै बोतादेखि पिनासम्म उकालोमा झण्डै ७ वटा मोडमा भएकोले हिउँ पन्छाइए पनि गाडी चिप्लिने सम्भावना रहेको उनले बताए । त्यसैले पूर्ण रूपमा सडक सञ्चालनमा आउन झण्डै एक हप्ता लाग्ने सक्ने भण्डारीले बताएका छन् ।
सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । मुगुमा हुने आयात निर्यात सबै ठप्प छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनः अवरुद्ध भएको हो ।
त्यस्तै जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको त्यहाँका स्थानीयले बताएका छन् । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् ।
ग्रामीण सडकहरू अवरुद्ध
त्यस्तै जुम्लाका आठै पालिका जोड्ने ग्रामीण सडक पनि हिमपातले अवरुद्ध भएका छन् । कर्णाली राजमार्गको त्रिवेणी हुँदै ताम्ती टोप्ला इमिल्छा जाजरकोट जोड्ने सडक, जुम्ला सदरमुकामदेखि पातारासी जोड्ने सडक, जुम्लाबाट गुठिचौर जाड्ने सडक लगायतका दर्जनौं ग्रामीण सडक अवरुद्ध भएका छन् । सुत्केरी बिरामीलाई अस्पताल ल्याउन समेत सकस हुने देखिएको गुठिचौर गाउँपालिका २ का क्षेत्र बुढाले बताए ।
कर्णाली राजमार्ग सञ्चालनमा
हिमपातले विभिन्न ठाउँमा अवरुद्ध कर्णाली राजमार्ग भने बिहीबार रातिदेखिनै सञ्चालनमा आएको जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले बताइन् ।
उनका अनुसार जुम्ला खण्डको एैरेनीदेखि धौलापानीसम्म जाम भएका गाडी खुलेका छन् । त्यस्तै कालिकोटको पिली र बिर्तामोडमा पहिरोले अवरुद्ध सडक पनि खुलेको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख भण्डारीले बताए । हिमपातले जुम्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।
प्रतिक्रिया