मेलम्चीमा सेनाले दुई महिनामै बनायाे बेलिब्रिज, गृहमन्त्रीले गरे उद्घाटन

0
Shares

मोतीराम तिमल्सिना,  मेलम्ची ।

मेलम्चीमा आएको विनाशकारी बाढीका कारण हेलम्बु गाउँपालिकाको वडा नम्बर ७ चनौटे र वडा नम्बर २ भिर खर्क जोड्ने पुल नेपाली सेनाले निर्माण गरेको छ ।  नेपाली सेनाको कालीजंग गणले समन्वय र सहजीकरण गरेको बेलिव्रिज शनिबार एक कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको पुलको गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्नु भएको थियो ।

नेपाली सेनाको इन्जिनियरिङ महाशाखाको टोलीले निर्माण गरेको उक्त पुल विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यम ढकालले सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवाललाई हस्तान्तरण गर्नु भएको थियो । पुल निर्माणका लागि कालिजंग गण धुलिखेलले समन्वय र सहजीकरण गरेको थियो ।

२०७८ साउन १६ र १७ गते आएको बाढीले उक्त स्थानमा भएको पुल बगाएको थियो । पुल बगाएका कारण स्थानीयहरूको जनजीवन कष्टकर थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय  परिषद्को बैठकले उक्त स्थानमा बेलिव्रिज निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाले इन्जिनियरिङ महाशाखालाई पुल निर्माणको जिम्मेवारी दिएको थियो भने कालीजंग गणले पुल निर्माणको सहजीकरण गरेको थियो ।

२०७८ कार्तिक ४ गतेबाट नेपाली सेनाको टोली उक्त स्थानको तैनाथ भई कार्तिक २४ गतेबाट पुल निर्माण कार्य शुरु गरेको थियो । तीन महिनामै पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको नेपाली सेनाले जानकारी दिएको छ ।  मेलम्ची खोला पुल चनौटे पुलको लम्बाई ४८।७७ मिटर अथार्त १६० फिटको रहेको छ भने चौडाई ४.२० मिटर अथार्त १३.७८ फिटको छ ।

२४ टन क्षमताको उक्त पुल टाइप थ्रीको रहेको सेनाले बताएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नु भएको छ । मेलम्ची खोलामा आएको बाढीले चनौटे बजार स्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका वडा नम्बर २ र ७ जोड्ने उक्त पुल बगाए पछि खोला वारिपारि गर्न निकै कष्ट बेहोर्दै आएका स्थानीयलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि एम्बुलेन्स सञ्चालनका लागि सहज भएको छ ।

गृहमन्त्री खाँडले नेपाली सेनालाई समयमै पुल निर्माण गरी नागरिकहरूको जीवन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेकोमा बधाई दिनु भएको थियो । नेपाली सेनाले उक्त स्थानमा बाढी पछि नागरिकहरूको उद्धार तथा राहत वितरण, अस्थायी बसोबासका लागि सहजीकरण र समन्वय गरेको थियो भने महामारी फैलन नदिन स्वास्थ्य शिविर आयोजना गरेको कालिजंग गण धुलिखेलका प्रमुख गणपति कर्णेल मिलन थापाले बताउनु भयो ।

विकास निर्माणमा नेपाली सेनाले जगाएको उत्साह र मेलम्चीको तहसनहसमा सेनाले खोलेको भूमिका महत्त्वपूर्ण भएको गृहमन्त्री खाँडले बताउनु भयो । सरकारले उक्त स्थानमा पीडित भएकाहरूले राहत तथा आवास निर्माण र अन्य कार्यका लागि छलफल गरिरहेको गृहमन्त्री खाँडले बताउनु भयो । १ करोड ८५ लाखको इस्टमेट रहेको उक्त पुल नेपाली सेनाले १ करोड १५ लाख रुपैयाँमा निर्माण सम्पन्न गरेको थियो ।