विश्वकै दोस्रो लामो झोलुंगेपुल निर्माण शुरू

0
Shares

पर्वत ।

अग्ला र लामा झोलुंगे पुल निर्माणका कारण चर्चामा रहेको कालीगण्डकी नदीको गहिरो खोँचमा फेरि विश्वकै दोस्रो लामो झोलुंगे पुल निर्माण शुरू भएको छ । पर्वतको जलजला गाउँपालिका–८ नाङ्लीबाङ र छिमेकी बागलुङको उपल्चौर जोड्ने गरी ‘सिंगल स्पान’ प्रविधिमा सबैभन्दा दोस्रो लामो पुल निर्माण शुरु भएको हो ।

यो पुल कालीगण्डकीमाथि ५ सय २४ मिटर लामो र नदीबाट १ सय ७२ मिटर उचाइमा बन्ने छ । सस्पेन्सन ब्रिज डिभिजनले पुल निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएपछि झोलुंगेपुल निर्माणका लागि बोलपत्रको प्रक्रिया शुरु गरेको छ । डिभिजनका इन्जिनियर टोपबहादुर बानियाँका अनुसार यो नेपालमा ‘सिंगल स्पान’ प्रविधिको दोस्रो लामो पुल हो ।

पुल निर्माणका लागि नेपाल सरकारले १२ करोड विनियोजन गरेको छ । ठेक्का लागेको दुई वर्षमा पुल तयार हुने विश्वास लिइएको छ । पर्वतबाट बागलुङ जोड्ने संसारकै लामो दाबी गरिएको पुल तयार हामीले नै गरेकाले यो पुल तयार गर्न समस्या हुँदैन’, इन्जिनियर बानियाँले भन्नुभयोे– ‘प्रविधि त्यही हो, निर्माण व्यवसायीले निर्धारित समयमा काम सके समयमै पुल बन्छ ।’

नेपालमा ३ सय ५० मिटरभन्दा लामा झोलुंगे पुल बनाउने प्रविधि नभएका बेला राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष पहलमा चीनबाट प्रविधि र उपकरण भित्र्याएर पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१ बांगेचौर जोड्ने ५ सय ६७ मिटर लामो पुल बनेको छ । यो पुल विश्वकै लामो दाबी गर्दै बागलुङ नगरपालिकाले गिनिज बुक अफ ओल्र्ड रेर्कडमा दर्ता गर्न निवेदनसमेत दिएको छ । नगरपालिकाले पुलको नाम नै गण्डकी गोल्डेन ब्रिज नामकरण गरेको छ ।

गण्डकी गोल्डेन ब्रिजजस्तै संरचनामा बन्ने अर्को लामो पुलले पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणलाई बागलुङ बजारको पहुँचमा ल्याउन सहज हुनेछ । नागलीबाङमा उत्पादन हुने तरकारी बागलुङ बजार ल्याउन, पञ्चकोट, शालग्राम संग्रहालय र बागलुङ कालिकालगायतका ठाउँमा पर्वतका सर्वसाधारणलाई आवत–जावत गर्न र बागलुङका सर्वसाधारण पर्वत जान सहज हुने नाङ्लीबाङका बासिन्दा महेन्द्र रेग्मीले बताउनुभयो ।

यो पुल बनेपछि घण्टौं लाग्ने बाटो १० मिनेटमा छोटिनेछ । पर्वतको नागलीबाङका सर्वसाधारणलाई बागलुङ आउन र बागलुङबाट जलजला गाउँपालिका जानका लागि कालीगण्डकीले बनाएको खोँचमा आवत–जावत गर्नुपर्ने बाध्यता छ ।