अवलोकन स्थल बन्दै सरसफाइ केन्द्र

0
Shares

स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिका सरसफाइ केन्द्र तथा शैक्षिक थलोका रूपमा विकसित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणाअनुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रूपान्तरण गरेसँगै देशका विभिन्न पालिकाहरु, फोहोरमैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ–संस्थाहरुको अध्ययन गर्ने थलोको रूपमा विकसित हुँदै गएको हो ।

आर्थिक वर्ष २०७१/०७२ बाट फोहोरमैला संकलन कार्य थालेको वालिङले हालसम्म नगरपालिका/गाउँपालिका तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने ५ सय बढी विभिन्न संघ–संस्थाहले अध्ययन अवलोकन गरिसकेको छन् ।

कतिपय ठाउँमा फोहोरमैलालाई ब्यवस्थित तरिकाले नछुट्टयाउने र जम्मा गर्ने मात्रै गर्दा डम्पिङ साइटका रूपमा रहने गरेकाले नजिकैको स्थानीय समुदाय विरोधमा उत्रिएर फोहोर फाल्न नदिने गरेको उदाहरण प्रशस्तै देखिएका छन् । वालिङ नगरपालिकाको सरसफाइ केन्द्र शैक्षिक थलोका रूपमा विकसित हुँदै गएको बताउनुहुन्छ वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण । नगरपालिकाले फोहोरमैलाका क्षेत्रमा गरेका कार्यहरुका बारेमा जान्न बुझ्न देशका विभिन्न ठाउँबाट यहाँ आउने र फर्केपछि आ–आफ्नो ठाउँमा यही मोडेलका रूपमा काम थाल्ने गरेकाले पनि सिक्ने थलोका रूपमा विकसित भएको बुझ्न सकिने उहाँको धारणा छ ।

स्रोतको उपयोगिता, आयआर्जनको स्रोत र एकीकृत व्यवस्थापनका दृष्टिले देशकै नमुना बनाउने अठोटका साथ अगाडि बढेको नगर प्रमुख खाँणले बताउनुभयो । ‘व्यवस्थापन गर्न नजान्दा फोहोर हो भने व्यवस्थापन गरेमा आम्दानीको स्रोत हो भन्ने प्रमाणित गरेका छौं’, उहाँले भन्नुभयो– ‘हरेक प्रकारका फोहोर आम्दानीका राम्रा स्रोत हुन सक्छन् ।’
कुहिने नकुहिने सिसाजन्य फोहोर सबै एकैठाउँमा फालियो भने व्यवस्थापन भएन भने त्यो फोहोर हुने र त्यसलाई राम्रोसँग व्यवस्थापन गर्ने वा वर्गीकरण गरेर पुनः प्रयोग गर्न सकेमा आम्दानीको स्रोतमा रूपान्तरण गर्न सकिने प्रमुख खाँणको दाबी छ । ‘राम्रो व्यवस्थापनले फोहोर समस्या होइनन् आर्थिक विकासका समाधान हुन सक्छन्, यही सोंचले अगाडि बढेका छौं’, उहाँले भन्नुभयो– ‘यसलाई अझै थप ब्यवस्थित र आधुनिक तरिकाले अगाडि बढाउँदै छौं, निर्माण अन्तिम चरणमा पुगेकाले केही महिनाभित्र हरेक प्रकारका फोहोरको प्रशोधन, पुनः प्रयोग, मल निर्माणजस्ता विधामा कार्य सञ्चालन हुने छ ।’

यो प्लान्ट सञ्चालनमा आएपछि नेपालकै एकमात्र एकीकृत फोहोर प्रशोधन केन्द्र बन्नेछ । जसलाई ‘बेस्ट रिसोर्स म्यानेजमेन्ट सेन्टर’ भनिने प्रमुख खाँणले बताउनुभयो । वालिङ नगरपालिका फोहरमैलाको क्षेत्रमा पटक–पटक पुरस्कृत भइसकेको छ । दैनिक दुईवटा ट्रिपरमार्फत कुहिने र नकुहिने फोहोर सङ्कलन गर्ने गरिएको छ । घर घरमै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडामा राखी उक्त फोहोरलाई छुट्टाछुट्टै गाडीमा सङ्कलन गरी सरसफाई केन्द्रमा लगेर फोहोरलाई थप वर्गीकरण गरिन्छ । कुहिनेलाई कम्पोस्ट मल र नकुहिने फोहोरलाई वर्गीकरण गरेर बिक्री गरिन्छ । देशका विभिन्न शहरमा फोहोर मैलाको उचित व्यवस्थापन नभएकै कारण चुनौती र समस्या झेलिरहँदा वालिङ नगरपालिकाले भने फोहोरमैलाको व्यवस्थापन गरी २४ लाख आम्दानी गरिसकेको उहाँले बताउनुभयो ।