स्रोतकेन्द्रका रेन्बो ट्राउट बेच्न बजार अभाव

0
Shares

खोटाङ ।

रेम्बो ट्राउट माछा स्रोत केन्द्रमा विकास गर्ने गरी ५० लाख १० हजार लगानीमा सामूहिक रूपमा ट्राउट पालन शुरू गरेका खोटाङका किसानलाई बजार अभाव भएको छ । रेम्बो ट्राउट, भुरा तथा दाना उत्पादन गरी आर्थिक आय आर्जन गर्ने लक्ष्यले साकेला गाउँपालिका–३ खिदिमास्थित तावाहाङ रेम्बो ट्राउट कृषक समूहले माछा उत्पादन गरी बिक्री शुरू गरे पनि बजार अभाव भएको जनाएको हो ।

स्थानीय यपोसी खोलाको पानी प्रयोग गरेर शुरू गरिएको रेम्बो ट्राउट माछा प्रतिकेजी १ हजार ५ सयका दरले बिक्री शुरू गरिएको हो । १९ वटा पोखरी र फिल्टर ट्यांक निर्माण गरी गत वर्षको चैत ६ गते १५ हजार भुरा हालिएको थियो । यो लटमा करिब ७ सय केजी माछा बिक्रीका लागि तयार भए पनि बजारको समस्या हुने बुझिएको कृषक समूहका हेलन राईले बताउनुभयो ।

स्थानीयले रेन्बो ट्राउट कस्तो जातको माछा हो भन्ने नबुझेर महंगो भन्ने गरेको राईको भनाइ छ । राईका अनुसार केही समयपछि फिसिङ तथा अर्डरअनुसार पोखरीस्थलमै पकाएर उपलब्ध गराइने समूहको तयारी छ । गाउँपालिकामा कृषि समूह दर्ता गरी शुरू गरिएको फर्ममा आन्तरिक तथा बाह्य पर्यटक अध्ययन र भ्रमणका लागि भित्र्याउनका साथै कृषि पर्यटनको विकास गर्ने योजना बनाइएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईको भनाइ छ ।

उक्त माछा पालनका लागि आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकार अन्तर्गतको मत्स्य विकास निर्देशनालयको २५ लाख, वडा कार्यालयको ५ लाख, गाउँपालिकाको ४ लाख र तावाहाङ रेम्बो ट्राउट कृषक समूहको १६ लाख १० हजार लगानी भएको छ । बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकहरू फर्म हेर्न तथा घुम्न आउन थालेकाले बजार पाउने कृषक समूहको अपेक्षा छ ।

पर्यटकीय स्थल तावाभञ्ज्याङ, तथा मुन्दुम पदमार्ग नजिकै रहेकाले पनि रेम्बो ट्राउट फर्ममार्फत कृषि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले सुनाउनुभयो ।