पाँडीगाउँमा तीन वर्षदेखि छैन टेलिफोन सेवा

१ सय ४५ घर–परिवार पीडित

0
Shares

बाजुरा ।

बाजुराको हिमाली गाउँपालिकाअन्तर्गत पाँडीगाँउका १ सय ४५ घर–परिवार सञ्चार सुविधाबाट वञ्चित हुँदै आएका छन् । २०७५ साल असोजबाट बूढीनन्दा नगरपालिका–२ कोल्टीको डाँडामा रहेको स्काई टावरले काम गर्न छोडेपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो ।

जिल्लाको दुर्गम तथा पीछडिएको गाउँ जहाँ टेलिफोन सम्पर्क गर्न अग्ला रुख चढ्नु वा डाँडा धाउनुको विकल्प छैन । ‘पाँडीगाउँबाट आफन्तलाई टेलिफोन सम्पर्क गर्न कि त रुखमा रुखमा चढ्नुपर्ने कि घरको छतमा गएर फोन गर्नुपर्ने बाध्यता छ ।’ –हिमाली गाउँपालिका–६ पाँडीगाउँका स्थानीय गोरखबहादुर रोकायाले भन्नुभयो । रोजगारीको सिलसिलामा र पढ्नका लागि गाउँबाहिर गएका आफन्तसँग टेलिफोन कुराकानी गर्न समेत नपाएको उहाँको दुःखेसो छ ।

पाँडीगाउँका अर्का स्थानीय कलकसिंह राकायाले टेलिफोनको टावर बनाउन स्थानीय निकायको ध्यान नजाँदा यसको मर्मत हुन नसकेको बताउनुभयो । ‘इन्टरनेटको जमानामा घरको कोठाभित्र बसेर फोरजी चलाएर फोन तथा भिडियो च्याट गर्नुपर्नेमा हामीलाई भने एक कल फोन गर्न पनि डाँडाकाँडा धाउनुपर्ने अवस्था छ ।’ –धिमगाउँका विष्णुभक्त रावत पीडा पोख्नुहुन्छ ।

गाउँमा टेलिफोन सुविधा नहुँदा सहज सूचनाको पहुँचवाट गाउँले टाढा भएका छन् । कोरोना कहरकै कारण खनयत्र पढ्न गएका कतिपय बालबालिका घर फर्केका छन् । तिनीहरुको अनलाइन कक्षा हुन्छ तर, कहिल्यै पढ्न पाउँदैनन् । ‘सूचनाको स्रोत बनेको टेलिफोन इन्टरनेट, समाजिक सञ्जाल केही हेर्न पाइँदैन । सूचनाको पहुँचमा पुग्न तीन घण्टा पैदल हिँडेर कोल्टी पुग्नुपर्ने बाध्यता छ ।’ –स्थानीय पर्वलाल भण्डारीको भनाइ छ ।

त्यसै गरी, कुण्डाका अधिकांश क्षेत्रमा बिहान घाम नलागेसम्म र बेलुकी घाम अस्ताएपछि टेलिफोन टावर जाने गरेको छ । अडिमालामा फोर्जी टावर निर्माण गरेको तीन वर्ष भयो । तर, हालसम्म सञ्चालनमा आएको छैन । जिल्लावासी फोरजी चलाउन घटालीमाण्डौं डाँडामा पुग्नुपर्छ । ‘गाउँमा फोरजी नचल्दा गाउँका प्रायः युवायुती डाँडामा जान्छन् । उक्त डाँको नाम अहिले फोरजीडाँडा भनेर चिनिन थालेको छ ।’ –स्थानीय वेदप्रकाश जोशी भन्नुहुन्छ ।

‘पाँडीगाउँको टावरका लागि पहल गरिरहेकै छु । टेलिकम केन्द्रीय कार्यालय र प्रदेशमा टेलिकम कार्यालयसँग पनि कुरा गरिसकें’, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल भन्नुहुन्छ– ‘केही समय लाग्छ, चाँडै बनाउँछौं भनछन् । तर, अहिलेसम्म बनाउन आएका छेनन् ।’

‘राष्ट्र निर्माण हाम्रो लक्ष’ भन्ने नारा बोकेको नेपाल टेलिकम केन्द्रीय कार्यालयको गत असोजको चलानी नम्बर १५१० पत्रमा भने हिमाली गाउँपालिकासँग सहयोग माग गरेको छ । पत्रमा उल्लेख भएअनुसार हिमाली गाउँपालिकाको कार्यालय धुलाचौर, बिच्छ्या र पाँडीमा नयाँ टावर निर्माण गर्ने र बाँकी ठाउँमा टेलिफोन टावर मर्मत गर्ने उल्लेख गरिएको छ । पाँडीमा टावर निर्माण गर्न गाउँपालिकाले बीबीयू स्विच उपकरण राख्ने १० मिटरको कोठा, विद्युत्पोल, ५ किलोवाटको सोलारलगायतका भौतिक संरचना हिमाली गाउँपालिकाले व्यस्थापन गर्नुपर्ने पत्रमा उल्लेख गरेको छ । पत्र प्राप्त भए पनि न त भौतिक संचना बनेका छन् न त टेलिकमले अर्को विकल्प अघि सारेको छ ।