रुक्सानालाई सम्मानसँगै सहयोग घोषणा

0
Shares

द भ्वाइस किड्स नेपालकी फाइनालिस्ट रुक्सना लिम्बूलाई रुक्साना लिम्बू जिताऔं अभियान धरानद्वारा धरानमा आइतबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानको विभिन्न संघ–संस्थाद्वारा सम्मान गरिएको छ।

कार्यक्रममा अभियानका तर्फबाट संयोजक मीना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए भने लिम्बू मञ्चका तर्फबाट संजोक हुक्पाचोङवाङ र प्रदीप योङहाङ, सिल्भर इन्टरटेन्मेन्टको तर्फबाट सौरभ श्रेष्ठ र गायक एपी शेर्पा, केन्द्र मोसन पिक्चर्सको तर्फबाट टंक लिम्बू, याकथुङ चलचित्रकर्मी संघ प्रदेश न. १ का तर्फबाट अध्यक्ष नवीन मेन्याङ्बो र सिंगक समाजको तर्फबाट दिनेश सिंगकले सम्मान पत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा अभियानले एउटा गीत निर्माण गरिदिने घोषणा गरेको छ। गीतमा शब्द मीना सिंगक लिम्बू र संगीत सेमिहाङ सिगंकको हुनेछ। त्यस्तै, अभियानको समन्वयमा केन्द्र मोसन पिक्चर्सले दुई म्युजिक भिडियो निर्माण तथा सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एउटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो भने राजेश पायल राई म्युजिक एकेडेमी तथा राजेश पायल राई फाउन्डेसनको तर्फबाट दुई गीत निर्माण गरिदिने घोषणा गरिएको छ। जसमा गायक तथा संगीतकार राजेश पायल राईको समेत स्वर र संगीत रहनेछ।

कार्यक्रममा अभियान टिमलाई गीत निर्माणका लागि बालकृष्ण सिंगकले १० हजार रुपियाँको चेक हस्तान्तरण गरेका थिए। त्यस्तै, रुक्सनाको आगामी प्रोजेक्टको लागि व्यवसायी टंक लिम्बूले २५ हजार रुपियाँको चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नविन मेन्याङ्बोले रुक्सानाले टाइटल जित्नु मात्रै ठूलो विषय नभई सम्पूर्ण संगीत प्रेमी नेपालीको मन जितेर स्रोता दर्शकको माया पाउन सफल भएको चर्चा गरे। रुक्सनाकी आमा रेखा लावती लिम्बूले रुक्सानाको लागि धरानको टिमले ठूलो सहयोग गरेको जनाइन्। अभियानका संयोजक सागर सरगम चेम्जोङ लिम्बूले रुक्सानाको सांगीतिक क्षेत्रमा भविष्य सुन्दर रहेको पुष्टि भइसकेको चर्चा गरे।