सीमाक्षेत्रमा कोरोना संक्रमणदर उच्च

0
Shares

बैतडी ।

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ । गएको १५ दिनयता यस प्रदेशमा ७ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गत पुस २८ गतेदेखि हालसम्म ७ हजार ३ सय १८ जनामा संक्रमण पुष्टि भइसकेको हो । उक्त अवधिमा संक्रमणका कारण थप ७ जनाको ज्यानसमेत गएको निर्देशनालयले जनाएको छ । पुस २८ गतेसम्म यस प्रदेशमा ४९ हजार ४ सय ७९ जनामा संक्रमण देखिएकोमा हालसम्म त्यो संख्या बढेर ५६ हजार ७ सय ९७ पुगेको हो ।

मृतक पनि ६ सय १४ रहेकोमा बढेर ६ सय २१ पुगेका हुन् । भारतका विभिन्न शहरमा प्रतिबन्ध लगाइएका कारण त्यहाँ कार्यरत नेपाली नागरिक स्वदेश फर्किएका साथै माघी पर्वमा पनि बढीजसो गाउँ फर्किएकाले संक्रमणदर बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशी बताउनुहुन्छ । ‘परीक्षण बढेकाले संक्रमणदर पनि बढेको देखिएको छ, माघी र भारतका केही शहरमा लकडाउन भएकाले नेपाली कामदार घर फर्किएकाले संक्रमणदर बढेको हो ।’ –उहाँले भन्नुभयो ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररूपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो । हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेका छ । भारतसँगका यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढ्दो हो । दिल्ली, कर्नाटक, गुजरातलगायतका शहरमा संक्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या पनि बढिरहेकाले यहाँ पनि ओमिक्रोनको उच्च जोखिम रहेको जनाइएको छ । भारतमा संक्रमण देखिएका शहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सर्तकता अपनाउन आवश्यक रहेको छ ।

भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा पनि कडाइ गरिएको छ । यस प्रदेशमा समेत गत मंगलबार चार जनामा ओमिक्रोन पुष्टि भइसकेकाले सीमानाकाहरुमा थप कडाइ गरिएको जोशीको भनाइ रहेको छ । ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरि एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ’, उहाँ भन्नुहुन्छ– ‘पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको छ । साथै भारतबाट आउनेलाई नाकामै खोप लगाउने प्रबन्धसमेत मिलाएका छौं ।’

सीमानाकामा थप प्रभावकारी ढंगले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्य टोली खटाइएको छ । यसका साथै कोभिड–१९ सम्पर्क व्यक्ति कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान पनि जारी रहेकाले सबैलाई खोप लगाउन पनि आग्रह गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ४ लाख ७३ हजार २ सय ९७ जनाको कोरोना परीक्षण गरिएकोमा ५६ हजार ७ सय ९७ जनामा संक्रमण भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६ सय २१ जनाको ज्यान गइसकेको छ । यस प्रदेशका विभिन्न ८ प्रयोगशालामार्फत पीसीआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टिजेनमार्फत पनि परीक्षण कार्य जारी रहेको छ ।