सती–महादेवको बासस्थान देउलाङ

0
Shares

दोलखा ।

दोलखाको विगु गाँउपालिका–१ देउलाङमा तामाङहरुको बाहुल्यता रहेको एउटा सानो बस्ती छ । बस्तीसँगै रहेको देउलाङ्गेश्वर महादेव मन्दिर सत्य युगमा महादेव–सतीदेवीको बासस्थान रहेको स्थानीयको विश्वास छ ।

माघ शुक्लपूर्णेमाबाट प्रत्येक हिन्दूको घर–घरमा एक महिनासम्म वाचन हुने स्वस्थानी व्रत कथामा एउटा प्रशंग छ– महादेवले सतीदेवीलाई विवाह गरेर घना जङ्गलको बाटो हुँदै ल्याउँदै गर्दा एउटा स्थानमा खरले बनाएको घर देखाएर यही हो मेरो घर भने । र, आफू भाङ, धतुरो खाएर भित्र गई सुते । निन्द्राबाट व्युँतिएपछि महादेवले सतीदेवीलाई यो हाम्रो घर होइन, खरको भित्ता च्यातेर हेर भने । भएको घर बिगारेर अर्को घर कहाँ खोज्ने भन्दै सतीदेवीले मानिनन् । तब महादेव उठेर खरको भित्तामा लात्ताले हानेर आफ्नो बासस्थान कैलाश पर्वतको दर्शन गराए ।

महादेवले खरको भित्तामा लात्ताले हानेर कैलाशको दर्शन गराएको स्थानमा देउलाङ्गेश्वर महादेवको मन्दिर रहेको स्थानीयको विश्वास रहेको छ । देउलाङ्गेश्वर महादेव मन्दिर रहेको स्थानबाट मिलारेक्पालगायत धेरै हिमशृङ्खला देखिने र गौरीशङ्कर हिमाल समेत नजिकै रहेकाले पनि स्वस्थानी व्रतकथामा रहेको प्रसंग देउलाङकै हो भन्न सकिन्छ । भारतको कनखलमा सतीदेवीले यज्ञकुण्डमा फाल हानेर देहत्याग गर्दा देउलाङबाटै गएको विश्वास रही आएको छ ।

देउलाङ्गेश्वर महादेव मन्दिरमा एउटा ठूलो शिला रहेको छ । यही शिलालाई महादेवको प्रतीकका रूपमा पुजिँदै आएको छ । किम्वदन्तिअनुसार देउलाङभन्दा केही अगाडिको गाउँ बाँबियोडाँडा कसेरीको ब्राह्मणको एउटा गाई पहरो फुटाएर देउलाङ आई सधैं देउलाङ्गेश्वर महादेवको मन्दिरमा रहेको शिलामा दूध दिने गथ्र्यो । गाईले घरमा कहिल्यै दूध नदिने भएपछि एक दिन गोठालो गाई कता जान्छ भनेर पछि लागे । गाई पहरो फुटाएर देउलाङमा पुगेर एउटा शिलामा दूध दिन लागेको देखेपछि गोठालोले रिस थाम्न नसकी आफूले भीरेको खुकुरीले गाईलाई काटी दिए ।

गाईको टाउको र शिर दुई टुक्रा भयो । छिनिएको शिर गौरी शङ्ख बनेको र शरीर शिलामै समाहित भएको किम्वदन्ति रहेको स्थानीय पहलमान तमाङले बताउनुभयो । यो घट्नापछि उक्त शिलालाई महादेवको प्रतीकका रूपमा पुजिन थालेको भनाइ प्रचलनमा छ । गाईको शिरबाट बनेको शङ्ख २०३६ सालसम्म रहेको र त्यसपछि हराएको स्थानीयको कथन छ । किम्वदन्तिमा उल्लेख भएको गाईले आफू हिँड्न चिरा पारेको पहरो अहिले पनि रहेको स्थानीय तमाङ बताउनुहुन्छ ।

देउलाङ्गेश्वर मन्दिरको अर्को किम्वदन्ति पनि प्रचलनमा रहेको छ । उहिल्यै वीरध्वज नामका एक स्थानीयले मन्दिरमा झिँगटीको छाना लगाउन लाग्दा मन्दिर परिसरमा पहिरो गयो । पहिरोले शिलालाई बगाएर झण्डै १ सय मिटर तल पुर्यायो ।

शिला बगाएपछि देउलाङवासीले वरपरको गाउँ वराङ, बुलुङ, लादुक, गोंगर सबैतिरको मानिस बोलाएर उक्त शिलालाई यथास्थानमा राख्न प्रयत्न गरे । वराङ, बुलुङ, लादुकका मानिसले उक्त शिलालाई डेक चलाउन सकेनन् । गोंगरका मानिसले प्रयत्न गर्दा भने शिला सजिलै सर्यो र गुरुवासे खोला हुँदै माथि ल्याएर यथास्थानमा राख्न सके ।

देउलाङ्गेश्वर मन्दिरमा स्वस्थानी व्रतकथा शुभारम्भ हुने पूर्णेमाको दिन ठूलो मेला लाग्ने गर्दछ । मेलाका दिन मन्दिरमा रहेको पुरानो पैसाको मालाले मन्दिर सिंगार्ने प्रचलन छ ।
रोचक कुरा त के भने उक्त मेलामा रातभर गीत गाएर जित्नेले आफूलाई मन परेको युवतीसँग विवाह गर्न छुट हुन्छ । अहिले पनि यो प्रचलन रहेको स्थानीय पहलमान तमाङको भनाइ छ ।

देउलाङ्गेश्वर मन्दिरमा दर्शन गर्यो भने मागेको कुरा पूरा हुने जनविश्वास रहेको छ । विशेष गरी, छोराछोरी नहुने दम्पतीले कोक्रोसहित देउलाङ्गेश्वर मन्दिरको दर्शन गर्ने गर्छन् । यसो गर्दा छोराछोरी हुने विश्वास रहेको स्थानीय बताउँछन् । उक्त मन्दिरमा पूजाको भाकल गरेर गएन भने कुनै कुरामा दोष देखाउने जनविश्वाससमेत रहेको छ । देउलाङ्गेश्वर महादेव मन्दिरको जात्रा भर्न दोलखाको विभिन्न ठाउँको अलवा सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं, भक्तपुरलगायतका मानिस पुग्ने गरेको स्थानीय बताउँछन् ।