‘देश बदल्ने’ लाई सम्झँदै हेटौंडा

0
Shares

हेटौंडा ।

आज आइतबार देशभर ज्ञात–अज्ञात शहीदको स्मृति दिवस मनाइँदै छ । देश, धर्म, संस्कृति, स्वतन्त्रताका निमित्त हाँसीहाँसी छातीमा गोली थाप्न पछि नपरी मृत्युवरण गर्नेको सम्झनामा यो दिवस मनाइँदै छ ।

२०५२ माघ १७ गते नेपालका पहिलो वाम प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले हेटौंडा उपमहानगरपालिका–११ मा शहीद स्मारकस्थल निर्माण गरिएका थिए । ऐतिहासिक जनआन्दोलन २०४६ पछि २०४७ साउन ७ गते उजाड भूमिमा वृक्षरोपण गरी शहीद स्मृति वाटिका नामकरणपछि हालको शहीद स्मारकले भौतिक स्वरूप प्राप्त गरेको हो । प्रारम्भमा शहीद प्रतीमा निर्माणबाट शुरु गरिएको कार्यप्रति सबैको सुझाव र सहयोगको आधारमा प्रशस्त पर्यटकीय पूर्वाधारको पनि निर्माण भएको छ । पाँच वर्षको तथ्यांक हेर्दा वार्षिक सरदर २ लाख पर्यटक यहाँ आउने गरेका छन् ।

स्थानीय सरस्वती खोलाबाट ल्याइएको स्यामल वर्णको विशाल ढुंगामा १२ जना शहीदको मुखाकृति कुँदिएको छ, त्यहाँ । भक्ति थापा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, भीमदत्त पन्त, वीरेन राजवंशी, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, मुनेश्वरी यादव, रत्नकुमार बान्तवा, प्रभाकर पौडेल र ज्ञातअज्ञात महिला तथा पुरुषको २ अमूर्त आकृति त्यसमा कुँदिएका छन् ।

शहीदको सम्झना र सम्मानका लागि शहीद स्तम्भ तथा शहीद ग्यालरी निर्माण गरिएको स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताउनुभयो । अज्ञात शहीदप्रतिको सम्मान दर्शाउने उद्देश्यले ६ रोपनी क्षेत्रफलमा ५० फिट अग्लो र १६ फिट चौडाइको स्तम्भ निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको ठूलो सम्भावना बोकेको हेटौंडामा स्तम्भले पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाएको छ । अत्याधुनिक प्रविधि प्रयोगमा स्तम्भ निर्माण गरी त्यसमा ग्रेनाइट सामग्री प्रयोग गरिएको छ । अन्य देशमा समेत प्रविधि र लोकप्रियताको परिचर्चा हुने गरी बनाइएको स्तम्भको आर्किटेक्ट डिजाइन शहरी विकास विभागका आर्किटेकहरुले गरेका हुन् ।

२०४६ सालसम्मका विभिन्न कालखण्ड समेटेर स्मारक निर्माण भइसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना निमित्त २०६२/०६३ मा भएको जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरुको प्रतीकात्मक स्तम्भ निर्माण स्थानीय विकास मन्त्रालय र शहीद स्मारक विकास समितिको लगानीमा जगेडा कोषबाट उपलब्ध रकमबाट गरिएको हो । जसमा हिमाल, पहाड र तराई छुट्टिने नेपालको कलात्मक नक्सा छ भने नक्साको पाँच स्थानबाट नदीहरु निरन्तर बहिरहेका छन् । अग्रभागमा आकर्षक फोहरा र चारैतिर बगैंचा छ ।

सोही क्षेत्रमा शहीद ग्यालरी निर्माण गरिएको छ । शहीद स्मृतिस्थलका रूपमा विकास गर्ने उद्देश्यले ग्यालरी निर्माण गरिएको हो । प्राप्त भएसम्मका शहीदहरुको फोटो, शहीदसम्बन्धी प्रकाशनलगायत सम्पूर्ण वस्तु त्यहाँ समावेश गरिनेछ । यसले अध्ययन अनुसन्धान गर्नेहरुका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।

राणा शासनकालको अन्त्यदेखि गणतन्त्र स्थापनासम्मका मार्गचित्र निर्माण गर्न प्रजातन्त्रका सेनानीहरु बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र गणेशमान सिंह जस्ता व्यक्तिहरुलाई सम्मान गर्न प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ ।