- डा. अरुणा उप्रेती
- डा. ज्योति भट्टराई
करिब ६५ वर्षका एक व्यक्ति बट्टामा बन्द गरेर बेचिने नरिवल–पानी र फलफूलको रस एकदम स्वस्थ हुन्छ भनेर दैनिक ४–५ गिलाससम्म पिउने गर्थे । उनका केही साथीहरुले ‘यसरी बट्टामा राखिएको ‘रस’ मा चिनी धेरै हुन्छ, बिगार गर्छ’ भन्दा उनी पत्याउँदैनथे ।
‘होइन यो त साँच्चिकै फलफूलको रस हो भनेर प्रचार गरेको छ, चिनी मिसाएको छैन भन्छ, यस्तोले खराबी गर्छ र ?’ उनी भन्ने गर्थे । एक दिन उनको रगतको जाँच गर्दा रगतमा चिनीको मात्रा अति नै बढेको पाइएपछि भने उनी छक्क परे । ‘म मिठाई, केक, चिनी खाँदै खाँदिन, पत्रु खाना खाँदिन, कसरी मेरो शरीरमा चिनीको मात्रा बढ्यो भनेर सोधपुछ र छलफल गर्न थाले ।
त्यसपछि बल्ल फलफूलको ताजा मानिने जुस नियमित पिएका कारण आफ्नो शरीरको रगतमा चिनीको मात्रा बढेको बुझे । त्यसपछि उनले बट्टामा बन्द गरेर बेचिने फलफूलको रस खान छोडे । एक महिनापछि उनको शरीरको रगतमा चिनीको मात्रा ठीक ठाउँमा आयो । धन्न औषधि खानुपरेन ।
केही वर्षअघि महाराजगन्ज शिक्षण अस्पतालका मधुमेह रोग विशेषज्ञ डा. प्रदीप श्रेष्ठले मधुमेहको समस्याबारेमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रले नेपालमा दोस्रो प्रकारको मघुमेहको जगजगी छ भन्ने देखाएको थियो । यसको कारण शरीरमा चिनीको मात्रा सुचारु गर्ने इन्सुलिन नामक हर्मोनले राम्रोसँग काम गर्न नसकेकोले हो । दक्षिण एसियामा नै यस्तो दोस्रो प्रकारको मधुमेहको मुख्य कारण विभिन्न पत्रु खाना– चाउचाउ, चिप्स अनि अनेक प्रकारका चिसो पेयपदार्थ एवं ससेजजस्ता मासुका परिकार हुन् ।
अन्तर्राष्ट्रिय एक मेडिकल जर्नलमा प्रकाशित यससम्बन्धी नयाँ जानकारी अनुसार विभिन्न प्रकारका पत्रु खाना, रेसा नभएका खाना, बिस्कुट आदिको प्रयोग गर्ने मानिसमा दोस्रो प्रकारको मधुमेह बढी भएको पाइएको छ । यस्तो पत्रु खाना खानेहरुमा चुरोट र रक्सी खानेहरुमा जस्तै लत बस्ने गरेको पाइएको छ । झन्डै एक लाख व्यक्तिहरुमा गरिएको अनुुन्धानपछि यस किसिमको जानकारी प्रकाशमा आएको हो ।
गलत किसिमको खानपानका साथै अस्वस्थ जीवन शैली, अत्यधिक तनाव आदिले पनि मधुमेह रोग निम्त्याउने गरेको तथ्य वैज्ञानिकहरुले अघि सारेका छन् । धेरै मोटो, धेरै दुब्लो, व्यायाम नगर्ने, खानाको समय नमिलाउने, चुरोट बढी खाने आदि व्यक्तिलाई पनि मधुमेह हुन सक्ने औँल्याइएको छ ।
कालीकोटका २४ वर्षीय सिर्जन शाही रसायन शास्त्र लिएर उच्च शिक्षा अध्ययन गर्दै छन् । बिहान धेरै भात खाएर हिँडेपछि दिउँसोको खाजाको लागि कहिले मम त कहिले चाउचाउ खाने गर्दा रहेछन् । उनको वजन अचानक दुई महिनामा नै ७ किलो घट्नुका साथै मुख सुख्खा हुने समस्या भएपछि उनी चिकित्सककहाँ जँचाउन गए ।
त्यस बेला उनी निकै बिरामी देखिन्थे । उनको शरीरमा चिनीको मात्रा सामान्यभन्दा झन्डै ५ गुणा बढी थियो । उनलाई तुरुन्त उपचार गरियो, इन्सुलिन चलाइयो । उनको खानपिन र जीवन शैली परिवर्तन गर्नुपर्ने कुरामा लगातार जोड दिइयो ।
सिर्जन कुरा बुझ्ने मानिस रहेछन् । अहिले ध्यान नदिएपछि गाह्रो हुने कुरा उनले बुझेछन् । उनले पत्रु खाना खान छोडे, खाजा स्वस्थकर खान थाले, जीवन शैली बदले र इन्सुलिन चलाउन बिस्तारै कम गरियो । अहिले त बन्द नै भइसकेको छ । तर उनले अहिले स्वस्थ जीवन शैली र स्वस्थ भोजन समय लिएर खान थालेका छन् । यदि मैले खाजामा पत्रु खाना नखाएको भए, तनाव नलिएको भए मलाई मधुमेह हुँदैनथ्यो भन्ने उनले बुझे ।
केही महिनाअघि अमेरिकाबाट ३० वर्षका एक विद्यार्थी नेपालमा आएका थिए । घरमा छुट्टीमा आउँदा उनलाई चिनी रोग देखियोे । अमेरिकामा बस्दा, खाना नपकाउने, धेरै पिज्जा, चिसो पेयपदार्थ र फलफूलको बट्टाको जुस मात्र खाने रहेछन् । उनको वजन नै १०४ के.जी. थियो । नेपाल आएपछि अस्वाभाविक रुपले वजन घट्ने, थकाइ लाग्ने भयो ।
त्यसपछि उनी डाक्टरकहाँ जँचाउन गए । उनको रगतमा चिनीको मात्रा धेरै भएर मिर्गौलामा पनि खराबी आइसकेको थियो । त्यसपछि उनको उपचार शुरु भयो । औषधि र स्वस्थकर खाना तथा स्वस्थ जीवन शैली अपनाएपछि उनको स्वास्थ्यमा सुधार आयो । अहिले उनको रगतमा चिनीको मात्रा सन्तुलनमा छ । अमेरिकामा गएर खानपान र जीवन शैलीलाई कसरी स्वस्थ राख्ने भनेर पिरचाहिँ परेको छ ।
मोटा व्यक्तिहरुको शरीरमा धेरै मात्रामा नराम्रो बोसो जम्मा भएको हुन्छ । अहिले विश्वमा मोटोपनको समस्या बढिरहेको छ । भारतमा सन् २०२० मा गरिएको एक सर्वेक्षणमा ११ हजार मानिसमध्ये ६२ प्रतिशतभन्दा बढी वयष्क (३० देखि ५९ वर्षका) व्यक्तिहरुको शरीरको तौल धेरै भएको अथवा मोटोपन भएको पाइएको थियो ।
शरीर सक्रिय नहुुँदा आन्द्रामा जमेको नराम्रो बोसो, धेरै क्यालोरी, चिल्लो पदार्थ र चिनी भएको खानेकुरा खाने व्यक्तिहरुमा टाइप २ मधुुमेह रोग लाग्छ । एक अध्ययन अनुसार मधुमेहबाट पीडित ९० प्रतिशत मानिसहरुको शरीरको तौल बढी भएको पाइएको छ ।
अरु तन्नेरी मानिसहरूले चिनी रोग भई उपचार पाउन सकेनन् र आँखा नदेख्ने, मिर्गौला फेल हुने, मुटुमा समस्या हुने, पक्षघातजस्ता समस्या भएमा देशको भविष्य के होला भन्ने डर पनि छ । यस्ता खर्चिला रोगहरूको शारीरिक, मानसिक र आर्थिक क्षतिको कुनै सीमा नै हुँदैन । यस्ता रोगीहरू र उनका परिवारलाई धेरै नै तनाव हुन्छ ।
हामी विकसित मुलुक कहलिएका देशमा झैँ पूर्णरुपमा पत्रु खानाको फन्दामा फसिसकेका छैनौँ । बिहान–बेलुका त घरमा नै खान्छौँ । अन्य बेलामा पत्रु खाना आदिलाई नखाएर निरोगी भएर बाँच्न सक्ने सम्भावना पनि छ । विभिन्न गेडागुडीमा सिमी, बोडी अनि अन्नमा जौ, कोदो, मकै, फापर र हरियो तरकारीमा भटमास, बकुला आदि स्वस्थ पनि छन् र सस्तोमा पनि पाइन्छन् ।
पहिले मधुमेह रोग ४० वर्ष काटेपछि हुन्छ भनिन्थ्यो । अहिले अस्वस्थकर जीवन शैली, पत्रु खाना, अत्यधिक तनाव आदिले गर्दा त युवा अवस्थामा नै मधुमेह (चिनीको रोग) हुन थालेको पाइन्छ । अझ कतिपय त आमाको पेटबाट नै यो रोग लिएर जन्मिन्छन् । गर्भावस्थामा हुँदा नै आमालाई मधुमेह भयो भने बच्चालाई पनि मधुमेह हुने सम्भावना धेरै हुन्छ ।
सरकारले मिर्गौलाको डायलासिस गर्न बिरामीलाई हप्तामा दुईचोटिको लागि पैसा दिने नीति बनाएको छ ।
तर सरकारले मिर्गौला बिग्रन नै नदिन कस्तो किसिमले रोकथाम गर्न सकिन्छ भनेर जनचेतना जगाउनेसम्बन्धी कुनै कदम चालेको छैन । युवाहरुको मिर्गौला, मुटु, फोक्सो आदि महत्वपूर्ण अंगहरु स्वस्थ राख्न, युवाहरूलाई मधुमेह, उच्च रक्तचाप, पक्षघातबाट जोगाउनका लागि रोकथामको काम नगरी केवल मुटु, मिर्गौलाको समस्या भएपछि उपचारका लागि रोगिलाई अलिकता पैसा दिएर मात्र समग्र स्वास्थ्य समस्या कतिसम्म धान्न सकिन्छ होला ? मधुमेहको समस्या भए पनि अस्पतालमा आउन नसकेका व्यक्तिहरूको त गणना नै गरिएको हुँदैन ।
विभिन्न किसिमका ८० वटा अनुुसन्धानको निष्कर्ष अनुुसार स्वस्थ खानेकुुरा खाने र शारीरिक व्यायाम गर्नाले शरीरको तौल कम गर्न मद्दत गर्छ तर मानिसहरु व्यायाम गरेपछि खानेकुरा धेरै खाने गरेकाले मोटोपनको समस्या कम नभएको पाइएको छ ।
गाउँ, शहर सबै ठाउँमा एकै नासले फैलिएको उच्च रक्तचाप, मधुमेह आदि मुख्यतः जीवन शैली र पत्रु खानासँग सम्बन्धित छन् भनेर विज्ञहरूले भनिरहँदा पनि स्वास्थ्य मन्त्रालयले ‘रोकथाम’ का लागि ‘चुइँक्क’ पनि बोलेको सुनिँदैन । यसको कारण के होला ? नेपालको टोल–टोलमा, वडा–वडामा अस्पताल खोल्ने भनेर अनेक ठूला कुरा गर्ने सरकारले अस्पताल र औषधिको भरमा मात्रै जनस्वास्थ्य राम्रो हुँदैन भनेर बुझ्नुपर्छ ।
वडामा अस्पताल खोले पनि हरेक ठाउँमा ‘डायलासिस’ त गर्न सकिन्न, त्यसको खर्च कसले धान्छ ? ‘डायलासिस’ गर्ने बिरामीले ‘काम’ गर्न नसक्दा उसको घरको आर्थिक अवस्था कति खराब हुन्छ ? २४ वर्षको मानिसलाई मधुमेह भएर उसको आँखा खराब भएपछि कसरी कहाँ उपचार गर्ने होला ? पक्षघात भयो भने कसरी परिवारका मानिसहरूले स्याहार गर्ने ? यसको बारेमा स्थानीय सरकार, केन्द्र सरकारले विचार गर्नुपर्ने हो । तर रोकथामसम्बन्धी कार्यक्रम हेर्दा यससम्बन्धमा सरकारी निकायले विचार नै गरेको छैन जस्तो लाग्छ ।
मधुमेह के हो ?
मानवशरीर अर्बौं जीवकोषले बनेको हुन्छ । प्रत्येक कोषलाई काम गर्न अक्सिजन (प्राण वायु) र ग्लुकोजको जरुरत पर्छ । प्राण वायु सास फेर्दा शरीरमा जान्छ । यसरी हामीले खाएको सबै भोजन अत्यमा ग्लुकोजमा परिणत हुन्छ । यसलाई प्रत्येक जीवकोषभित्र पठाउने काम इन्सुलिन नामक तत्वले गर्छ । यो तत्व वा रस प्यान्क्रियाज (अग्नाशय) नामक अंगबाट निस्किन्छ ।
चिनी रोगको बारेमा चरक आयुर्वेदमा पनि वर्णन छ । त्यो बेलामा रगत जाँचको सुविधा नभएकोले बिरामीको पिसाबबाट चिनी बाहिर आएपछि कमिला यो पिसाबमा झुम्मिएको देखेर उक्त व्यक्तिलाई रोग (चिनी रोग) लागेको अनुमान हुन्थ्यो ।
मधुमेह विभिन्न प्रकारमा वर्गीकरण गरिएको छ ।
प्यान्क्रियाजबाट इन्सुलिन उत्पादन नै भएन भने त्यसलाई प्रकार एक वा टाइप वान मधुमेह भनिन्छ । प्यान्क्रियाजबाट इन्सुलिन त उत्पादन भयो तर यसले शरीरमा सुचारु रुपले काम गर्न सकेन भने यसलाई प्रकार दुई वा टाइप टु मधुमेह भनिन्छ । तेस्रो प्रकारको मधुमेह गर्भावस्थामा महिलालाई हुन सक्छ ।
यो बेलामा भोजनमा ध्यान दिएर र जरुरत परे औषधि चलाएर पनि गर्भवतीको शरीरलाई स्वस्थ राख्नुपर्छ । नत्र भ्रुणलाई पनि समस्या पर्न सक्छ । त्यसै गरी केही औषधिहरुको प्रयोग गरेपछि वा प्यान्क्रियाजको शल्यक्रियापछि पनि मधुमेह देखिन सक्छ । केही चिकित्सकहरुको भनाइमा शरीरमा लामो समय तनाव भइरह्यो भने पनि मधुमेह देखिन सक्छ ।
प्रकार एक मधुमेह बढी बालबालिकामा हुन्छ । एकदमै दुब्लाउनु यसको लक्षण हो । इन्सुलिनको आविष्कार हुनुअघि यस्तो बालबालिकाको मृत्यु चाँडै हुन्थ्यो तर अहिले उपचार गरेर यस्ता बालबालिका स्वस्थ हुन्छन् । प्रकार दुई मधुमेहमा शरीरमा इन्सुलिन नै कम बन्ने अथवा विभिन्न कारण वा उत्पादन भएको इन्सुलिनले पनि सुचारु काम गर्न सक्दैन ।
प्रायः विदेशतिर मोटो मानिसमा देखिने यो समस्या हाम्रो जस्तो देशमा दुब्ला मानिसमा पनि देखिएको छ । हेर्दा दुब्लो तर भुँडी ठूलो भएको मानिसलाई पनि मधुमेह हुन सक्छ । नेपालमा एउटा सानो समूहमा गरिएको अध्ययन अनुसार शहरी क्षेत्रमा झन्डै २० प्रतिशतलाई यो समस्या छ ।
कति जनालाई मधुमेह नै नभएर पनि मधुमेहपूर्वको अवस्था हुन सक्छ । यदि खालि पेटमा रगत जाँच गराउँदा १०० देखि १२६ mg/dl वा खाना खाएको दुई घण्टापछि १४० देखि २०० mg/dl भएमा यसलाई मधुमेहपूर्वको अवस्था भनिन्छ । यस्तो व्यक्तिलाई यदि जीवन शैली र भोजनमा परिवर्तन नगरे पछि मधुमेह हुन्छ । मधुमेह भएपछि आँखा, मिर्गौला र मुटुमा अनेक समस्या पर्ने भएकोले यसको रोकथाम कार्य बढी महत्व हुन्छ । मधुमेह भइसकेपछि पनि भोजन, जीवन शैली र तनाव व्यवस्थापन गरेर सहज जीवन जिउन सकिन्छ ।
टाइप २ मधुमेहले विशेष गरी आँखा, आन्द्रा, मुुटुु तथा रक्तनलीहरुमा असर गर्नुुका साथै दीर्घकालीन समस्या, शरीरमा शिथिलता उत्पन्न गराउँछ । त्यसैले मोटोपन र टाइप २ मधुुमेह भएका मानिसले समय–समयमा यी अंगहरुको उपचार गराइराख्नुुपर्छ ।
प्रतिक्रिया