संविधानको रक्षक बन्ने लुम्बिनीबाट निर्वाचित राष्ट्रियसभा सदस्यको प्रतिबद्धता

0
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरूले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेकपा एकीकृत समाजवादी रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेदवारलाई बिहीबार बुटवलमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै विजयी राष्ट्रियसभाका सदस्यहरूले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वोपरि मानेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट विजयी राजेन्द्रलक्ष्मी गैरैले जनता र संविधान रक्षामा लाग्ने बताउनु भयो । गठबन्धनका उम्मेदवारको विजयले प्रतिगमनकारी र दम्भीहरू पराजित भएको उहाँले बताउनु भयो । उहाँले केपी ओली नेतृत्वको एमाले बलियो भएको भनिएको लुम्बिनीको राष्ट्रियसभाबाट पछार्न सफल भएकोमा खुसी व्यक्त गर्नु भयो ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट विजयी हुनु भएका तुलप्रसाद विश्वकर्माले संविधान, संसद्, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्ने प्रतिगमनकारी शक्तिलाई राष्ट्रियसभाको निर्वाचनले परास्त गरेको बताउनु भयो ।

देश र जनताका समस्याहरूलाई निकास दिन राष्ट्रियसभा सदस्यको हिसाबले पूरा गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले गठबन्धनबाट विजयी हुँदा समग्र देश र प्रतिगमनकारी शक्तिले पराजय भोगेको बताउँदै आफूहरूले गल्ती गर्दा सजग गराउन आग्रह गर्नु भयो ।

नेपाली काँग्रेसका तर्फबाट विजयी हुनु भएका युवराज शर्मा भने बाँकेमा भएकाले कार्यक्रममा सहभागी हुन सक्नु भएन । उक्त अवसरमा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले लुम्बिनी प्रदेशमा सचेत जनप्रतिनिधिले फ्लोर क्रस गरेर समेत गठबन्धनका उम्मेदवारलाई भोट दिएको बताउनु भयो ।

उहाँले पञ्चायत, बहुदल र गणतन्त्र ल्याउन जसरी वामपन्थी र प्रजातान्त्रिक शक्तिको गठबन्धन सफल भएको उल्लेख गर्दै अहिले केपी ओलीले चालेको संविधान विरोधी र प्रतिगमनकारी कदमलाई परास्त गरेको बताउनु भयो ।