६ हजार थान नक्कली थ्रीएम मास्कसहित ४ जना पक्राउ     

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नक्कली थ्रीएम मास्कसहित त्रिपुरेश्वरबाट ४ जना पक्राउ परेका  छन् । त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा त्रिपुरेश्वस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ललितपुर टिकाथली घर भएका ३४ वर्षीय बुद्दि बहादुर कार्की, काठमाडौं भोटेबहाल बस्ने भारत राजस्थान घर भएका नक्कली थ्रीएम मास्कको सप्लायर्स २० वर्षीय यश अग्रवाल, २० वर्षीय श्री यान्स लावटी र ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर संखुवासभा सभापोखरी गाउँपालिका १ घर भएका २३ वर्षीय मुक्ति प्रसाद पोखरेल रहेका छन् ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अमेरिकन ब्राण्ड थ्रीएम मास्क तथा थ्रीएम हेल्थक्येर युएसको नक्कल गरी कम गुणस्तरका माक्स नेपाली बजारमा बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै महालक्ष्मी इशान इन्टरप्राइजेजबाट ४ हजार १ सय ९४ थान र अनेष्ट सप्लायर्सबाट १ हजार ९ सय २० थान नक्कली थ्रीएम मास्क बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

हाल उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।