हिउँ फोड्दै बाटो बनाउँदै, प्रवाह छैन मौसमको

0
Shares

मुगु ।

हिमाली जिल्लाहरूमा बाक्लो हिउँ पर्दा कठ्याङ्ग्रिँदो चिसो छ । तापक्रम माइनस १३ देखि माइनस १५ डिग्री सेल्सियसमा झरेको छ । हिँड्ने गोरेटाहरू हिउँले पुरिएर बरफमा परिणत भएका छन् । सलसल बग्ने खोलानाला बरफ जमेर मृत अवस्थाका जस्तै बनेका छन् । जताततै हिउँ नै हिउँ छ । हिउँलाई छिचोल्दै बरफका डल्ला फुटाउँदै ३२ सय मिटरको उचाइमा रहेको मुगुको चंखेली हिमालदेखि हुम्लाको सातथाप्ले खण्डमा सयौं स्थानीय महिला–पुरुष सडक खनिरहेका छन् ।

छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँकी धर्मशिला बुढाले गत वैशाखदेखि जंगलमै पालमा बसेर सडक खनिरहनुभएको छ । वैशाखयता दशैंमा मात्रै घर गएको र पुनः सडक निर्माणमै जुटेको उहाँको कथन छ । सडक निर्माण शुरु भएदेखि नै लगातार सडक खन्ने काममा लागेको बूढा बताउनुहुन्छ । ‘यो सडक निर्माणले ग्रामीण गाउँबस्तीमा विकास मात्र होइन, हामी सयौं महिलालाई दैनिक रोजगारीमासमेत जोडेको छ ।’ –सडक निर्माण शुरु भएदेखि नै काम गर्दै आउनुभएकी बुढाले भन्नुभयो ।

त्यस्तै, छायाँनाथ रारा नगरपालिका–२ कै जर्मालक्ष्मी शाही पनि वैशाखदेखि जंगलमै पालमा बसेर सडक खन्ने काम गर्दै आउनुभएको छ । उहाँ अहिले चंखिली हिमालभन्दा तलको जंगलमा सडकको काम गर्दै हुनुहुन्छ । जर्मालक्ष्मीको श्रीमान् पनि सडक खन्ने काममै हुनुहुन्छ । उनीहरू पनि सडक निर्माणकार्य शुरु भएपछि दशैंमा मात्रै घर गएको बताउँछन् ।

सधैं चुलोचौकोमा सीमित हुने र आर्थिकरूपमा श्रीमान्को भर पर्ने गरेका महिलाहरू यतिखेर घरछेउमै लाखौं कमाइ गरिरहेका छन् । ज्याला–मजदुरीका लागि भारतको सिम्ला, हिमाञ्चल तथा खाडीका देशहरू धाउने पुरुषहरू पनि घर–आँगनमै लाखौं कमाइरहेका छन् । त्यसैले पनि उनीहरूलाई माइनस १५ डिग्री सेल्सियसको चिसोले छुन सकेको छैन ।

हरेक कामदारलाई चोटपटक लागे उपचारका लागि औषधि र स्वास्थ्यकर्मीको टोलीसमेत व्यवस्था गरिएको छ । कामदारको चोटपटकका कारण मृत्यु भएको खण्डमा ५ लाखसम्मको दुर्घटना बीमा समेत गरिएको छ । प्रत्येक कामदारलाई हेलमेट, चस्मा, पन्जा, जुत्तालगायतका सुरक्षाका सामग्री उपलब्ध गराइएको छ । सडक खुलेदेखि लगातार चार वर्ष काम गरेर ४ लाखभन्दा बढी कमाइ गरेको सोरू गाउँपालिका–९ गाउँका ५६ वर्षीया टेकबहादुर शाह बताउनुहुन्छ । ‘ज्याला–मजदुरीका लागि हिउँदको समयमा भारतको नैनीताल, हिमाञ्चल जाने गर्थें’, उहाँ भन्नुहुन्छ– ‘यो ग्रामीण पहुँच कार्यक्रम शुरु भएदेखि भारत जान छाडें ।’

घरखर्च र बालबच्चाको सुन्दर भविष्यका लागि चिसोको पर्वाह नगरी महिनौंदेखि जंगलमै पाल टाँगेर मुगु र हुम्लाका सर्वसाधारण सडक खन्ने काममा जुटेका हुन् । बेलायत सरकारको आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत मुगुको रेडक्रसदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक जोड्न २०७५ पुसदेखि निरन्तर निर्माणकार्य जारी छ ।

चंखेली हिमालदेखि सातथाप्लेसम्मको जंगलभर २ सयको हाराहारीमा त्रिपालको टेन्ट टाँगेर सडक निर्माणमा खटिएका मुगु र हुम्लवासी रात काट्ने गर्छन् । गत वैशाखदेखि मुगु र हुम्लाका विभिन्न ठाउँबाट स्थानीयहरू सडक निर्माण कार्यमा निरन्तर लागिपरेका छन् । उनीहरूलाई न बर्खाको बाढीले छेकेको छ, न त पुस माघको हिउँले रोकेको छ ।

यति बेला उक्त सडकका विभिन्न खण्डमा १ हजार ४ सय ६० जनाले निरन्तर सडक निर्माणकार्य गरिरहेका छन् । ७३ वटा समूहमा विभाजित प्रत्येक समूहमा आधा संख्या महिलाको रहेको ग्रामीण पहुँच कार्यक्रमका फिल्ड व्यवस्थापक विष्णुराम विष्ट बताउनुहुन्छ । चिसोको सिरेटोमा करिब ४९ प्रतिशत महिलाको सडक निर्माणमा दैनिक सहभागिता रहेको उहाँको भनाइ छ । ‘सडक निर्माण कार्यमा हिउँदको चिसो र बर्खाको बाढीको कुनै पर्वाह नगरी यहाँका जनता र कर्मचारी निरन्तर जुटेका छन्’, विष्ट भन्नहुन्छ– ‘यस कार्यले सडक निर्माणको काम निर्धारित समयमै सम्पन्न हुनुका साथै जनताको आर्थिक विकासमा समेत सहयोग पुग्ने देखिन्छ ।’

सडक निर्माण पूरा भएपछि मुगुका रुगा, लुम, बाम, दर्खे, फोइपाटा लगायतका सोरू गाउँपालिकाका नागरिकले सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यस्तै, हुम्लाका चंखेली, सर्केगाड, खार्पुनाथ र सिमिकोट गरी चार गाउँपालिकाका स्थानीयलाई सहज हुनेछ । ०७९ वैशाखसम्म निर्माण सम्पन्न गरी जेठमा प्रदेश सरकारलाई सडक हस्तान्तरण गरिने योजना रहेको छ ।