सम्झनामा तारादेवी

0
Shares

स्वर किन्नरी तारादेवीको १६औं पुण्य स्मृतिमा तारादेवी स्मृति फाउन्डेसनले गरेको सम्झनामा तारादेवी कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एक दर्जनभन्दा बढी गायक गायिकाले तारादेवीद्वारा स्वरबद्ध गीत गाएर उनको सम्झना गरेका छन्।

काठमाडौं महानगरपालिका र म्युजिक नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा गायिका गीता पाण्डेले राष्ट्रकवि माधव घिमिरेको शब्द, नातिकाजीको संगीत तथा शुभबहादुर सुनामको संगीत संयोजन रहेको गीत फूलको थुँगा गाएर दर्शकलाई मोहित तुल्याइन्। सोही गीतमा आस्था कला केन्द्रका कलाकारहरूले स्वर किन्नरी तारादेवीको बायोपिक प्रस्तुत गर्दा माहोल निकै भावुक बनेको थियो। जेरक्स चौधरीले कोरियोग्राफी गरेको बायोपिकमा अनुजा अधिकारी, रियाना थापा, जेरक्स चौधरी, किशोर विश्वकर्मा, श्रवण पाख्रिन र सिर्जना घिमिरे सहभागी थिए। गायिका प्राश्ना शाक्यले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको उकाली ओरालीहरूमा गाएर माहोल तताइन्। जिना रसाइलीले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको आमा भएर बाँची हेर प्रस्तुत गरिन्।

कार्यक्रममा पाँच युगल प्रस्तुत गरिएको थियो। पूर्वमन्त्री रामवीर मानन्धरले गायिका गीता पाण्डेसँग मुस्कानका लहरहरू र गायिका प्राश्ना शाक्यसँग तिम्रो नाम अझै छ ओठमा गाए। गायिका सरस्वती मानन्धर, लजना मानन्धर, रेकिशा केसी र पुष्मा नेपालीका साथमा गायक सुरेश मानन्धर, धर्मरत्न मानन्धर, किशोर विश्वकर्माले पनि तारादेवीका गीत गाएर उनको स्मरण गरे। कार्यक्रममा गीतकार किरण खरेल, चा“दनी शाह, रत्न शम्शेर थापा, चेतन कार्कीलगायत संगीतकार नातिकाजी, गोपाल योञ्जन, शुभ बहादुर सुनाम, शिव शंकर तथा अम्बर गुरुङका गीतहरू गुञ्जिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले श्रष्टाहरूको हितका लागि महानगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए। फाउन्डेसनका अध्यक्ष दीपक केसीले आगामी वर्षसम्म फाउन्डेसनको घर निर्माणका लागि महानगरपालिकाले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए। कार्यक्रममा फाउन्डेसनका महासचिव शोभन सैंजुले स्वागत मन्तव्य र कोषाध्यक्ष रमेश थापाले कार्यक्रमको बारेमा मन्तव्य राखेका थिए। कार्यक्रम अष्टनारायण हल बालाजुमा सामाजिक दूरी कायम गरी सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो।