८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०



दीपक रिजाल, काठमाडौं ।

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ ।

यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । जनसंख्या घट्नुमा नेपालमा जनसंख्या नियन्त्रणका लागि ३० वर्षदेखि चालिएको प्रयासले सार्थकता पाएको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक जनसंख्याविद् पद्मप्रसाद खतिवडा जनसंख्या नियन्त्रणका प्रयासहरूले सफलता पाए पनि यसरी जनसंख्याको वृद्धिदर घट्नु मुलुकका लागि चिन्ताको विषय भएको बताउनुहुन्छ । नेपालको जनसंख्या नियन्त्रणबाट व्यवस्थापन गर्ने भनिए पनि राज्यको प्रयास निरर्थक रहेको उहाँको धारणा थियो ।

नेपालमा जनसंख्याको वृद्धिदरमा आएको असन्तुलनले तराईका अधिकांश भागमा अत्याधिक जनसंख्या हुने र उच्च पहाडी तथा हिमाली भेगमा भने जनसंख्या शून्यको अवस्थामा आउने भएकाले राज्यले उच्च पहाडी र हिमाली क्षेत्रमा भने जनसंख्या नियन्त्रण नगरी त्यस क्षेत्रमा जनसंख्या बढाउने काम गर्नुपर्ने खतिवडाले बताउनुभयो ।

अहिलेको अवस्था विश्लेषण गर्दा अबका केही दशकमा नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा जनसंख्या शून्यमा पुग्ने र शहरी क्षेत्रमा भने जनसंख्याको चाप बढेर धान्न नसक्ने अवस्थामा पुग्ने देखिएकोले त्यसतर्फ राज्यको ध्यान जान जरुरी रहेको उहाँले बताउनुभयो ।

जनगणनाबाट सबैभन्दा बढी परिवार मधेस प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा रहेको पाइएको छ । बितेको १० वर्षमा प्रतिपरिवार जनसंख्या पनि घटेको छ । २०६८ सालमा नेपालमा एक परिवारमा ५ जना बस्ने गरेका थिए भने अहिले यो संख्या घटेर प्रतिपरिवार ४ दशमलव ३२ मा झरेको विभागको तथ्याङ्मा उल्लेख छ ।

नेपालमा महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भने पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । नेपालका पुरुषको भन्दा महिलाको संख्या ६ लाख २० हजार बढी रहेको छ ।

जनगणनाले नेपालमा ६७ लाख ६१ हजार ५९ घर परिवार रहेको र ती परिवार ५६ लाख ४३ हजार ९ सय ४५ घरमा बसोबास गर्ने गरेको देखाएको छ । त्यसैगरी कुल जनसंख्याको ६६ प्रतिशत २ सय ९३ नगरपालिकामा रहेको तथ्याङ्कमा उल्लेख छ । विभागले ती क्षेत्रलाई शहरी क्षेत्र भएको परिभाषा गरे पनि कतिपय नगरपालिकाहरू दुर्गम क्षेत्रमा पर्ने भएकाले त्यसलाई शहरी क्षेत्रको बासिन्दाको रूपमा परिभाषित गर्न नमिल्ने खतिवडाले बताउनुभयो ।

तथ्यांक विभागले सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणअनुसार शहरी जनसंख्या ६६ प्रतिशत र ग्रामीण जनसंख्या ३३ प्रतिशत रहेको छ । विभागका अनुसार सरकारबाट घोषित २ सय ९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेकको ४ सय ६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानिएको छ ।

प्रदेशगत रूपमा हेर्ने हो भने सबैभन्दा बढी जनसंख्या अर्थात् कुल जनसंख्याको २१ प्रतिशत मधेस प्रदेशमा बस्ने गरेको पाइएको छ । मधेस प्रदेशमा मात्रै ६१ लाख जनसंख्या रहेको छ ।

मधेस प्रदेशपछि सबैभन्दा बढी जनसंख्या वागमती प्रदेशमा रहेको छ । वागमती प्रदेशको जनसंख्या ६० लाखको हाराहारीमा रहेको छ । त्यसैगरी सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा रहेको छ । गण्डकी प्रदेशको जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ रहेको छ । यो प्रदेशमा जनसंख्या वृद्धिदर पनि सबैभन्दा कम अर्थात् शून्य दशमलव ३० प्रतिशत मात्रै रहेको छ ।

प्रदेश नम्बर १ मा जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत, मधेसमा १ दशमलव २० प्रतिशत, गण्डकीमा शून्य दशमलव ३० प्रतिशत, लुम्बिनीमा १ दशमलव २५ प्रतिशत, कर्णालीमा शून्य दशमलव ७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा शून्य दशमलव ५८ प्रतिशत रहेको छ ।

जिल्लागत रूपमा वार्षिक जनसंख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ ।

सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा ३ दशमलव ३२ प्रतिशत र सबैभन्दा कम रामेछाप जिल्लामा माइनस १ दशमलव ६५ प्रतिशत रहेको छ । हिमाली जिल्लामध्ये मुगु जिल्लामा सबैभन्दा बढी १ दशमलव ८० प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर रहको विभागको तथ्याङ्कमा देखिएको छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ । काठमाडौंमा २० लाख १७ हजार ५ सय ५२ जनसंख्या रहेको छ भने सबैभन्दा कम मनाङमा ५ हजार ६ सय ४५ रहेको छ । विभागका अनुसार गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकामा बाँकेको बैजनाथ, राप्तीसोनारी र खजुरा, रूपन्देही जिल्लाको मायादेवी र कपिलवस्तुको मायादेवी रहेका छन् ।यस्तै, सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकामा मनाङको नार्पाभूमि, ङिस्याङ र नासो गाउँपालिका रहेका छन् भने मुस्ताङको लो–घेकर दामोदरकुण्ड पनि कम जनसंख्या भएको जिल्लाको रूपमा रहेको छ ।

सबैभन्दा धेरै जनसंख्या भएका ५ महानगरपालिकामा काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज रहेका छन् । यस्तै, सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकामा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालीगुराँस र दोलखाको जिरी नगरपालिका रहेका छन् ।

जनगणना २०७८ अनुसार काठमाडौंमा सबैभन्दा धेरै ५ हजार १ सय ८ जना प्रतिवर्ग किलोमिटर र मनाङ जिल्लामा सबैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व देखिएको छ ।

नेपालमा समग्र रूपमा हेर्ने हो भने प्रति किलोमिटर १ सय ५८ जना रहेको छ । जनगणनाको प्रारम्भिक नतिजाअनुसार २१ लाख ६९ हजार ४ सय ७८ जना विदेशमा बसोबास गरेको देखिएको छ । यीमध्ये १७ लाख ६३ हजार ३ सय १५ पुरूष र ४ लाख ६ हजार १ सय ३ महिला विदेशमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्