राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका तीनै जना विजयी

0
Shares

नरेन्द्र केसी, दाङ ।

लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले ४ हजार ३ सय ७४, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरेले ४ हजार ३ सय ६५ र राष्ट्रिय जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले ४ हजार ३ सय ४४ मत ल्याएर विजयी हुुनुुभएको हो ।

प्रतिद्वन्द्वी एमालेबाट दाङका रामदयाल गुप्ताले ३ हजार ३ सय १२, बाँकेका भारती खनाल उपाध्यायले ३ हजार ३ सय ४८ र गुल्मीका कृष्ण सुनारले ३ हजार ३ सय ७८ मत ल्याउनुभएको छ ।  कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा कुल २ सय ९६ मतदाता मध्य २ सय ९४ जनाले मतदान गरेका थिए ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ जना र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २ सय ९६ मतदाता थिए ।  प्रदेशसभा सदस्य सबै ८१ जनाले मतदान गरे भने स्थानीय तहका दुई जना अनुपस्थित भएपछि २ सय १३ जना प्रमुख उपप्रमुखले मतदान गरेका थिए ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्से कार्यकाल सकिन लागेपछि निर्वाचन भएको हो ।