डब्बुले गजलमा ल्याए तिम्रो याद (भिडियोसहित)

0
Shares

गीत तथा गजल लेखनमा आफ्नो फरक परिचय बनाएका गीतकार डब्बु क्षत्रीको नयाँ गजल तिम्रो यादको भिडियो रिलिज भएको छ। उनको गजलको भिडियो हाईलाइट नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको हो। गजल ब्राइटर तिम्रो सुर मेरो गीतका फाइनलिस्ट सानु बाबु महर्जनले गाएका छन् भने संगीतकार जुगल डंगोलले संगीत दिएका छन्।

अनायसै तिम्रो याद आइरह्यो रातभर
मनमा नौलो हलचल छाइरह्यो रातभर

गजलमा क्षत्रीले भनेका छन्। युगल प्रेमीको अथाह प्रेम भावलाई गजलमा समेटिएको क्षत्रीले बताए। गजलको भिडियोको निर्देशन र सम्पादन पनि क्षत्रीले नै गरेका छन्। पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गजलको भिडियोमा कलाकार निश्चल विक्रम पौडेल र सृष्टी कडरीयाले अभिनय गरेका छन्। राहदानी सहित विभिन्न फिल्म, क्राइम पेट्रोल नेपाल र नाटकमा अभिनय गरेका निश्चलले यही गीतको भिडियोबाट म्युजिक भिडियोमा डेब्यु गरेका हुन्। भिडियो मिलन शंकरले खिचेको छन् भने वीरेन्द्र भाट ‘विपिन’ को रंग संयोजन रहेको छ।

डब्बु क्षत्रीको यो १०औं गजल हो। यसअघि, उनले झरी सम्बन्धि गजल संग्रह झरी बजारमा ल्याएका थिए। त्यसपछि, उनले ल्याएको अर्को गीत तथा गजल संग्रह गुलावी स्वरहरूमा पनि केही गजल छन्। गजलबाटै म्युजिक खबर म्युजिक अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड चुमेका डब्बु क्षत्री नयाँ गजल तिम्रो यादबाट पनि निकै आशावादी छन्।