खोप लगाएका कलाकार र प्राविधिकलाई लिएर शुरु भयो डा. कपिलको ह्यारीकी प्यारी

0
Shares

२५ वर्षदेखि लण्डनमा बसेर दन्त चिकित्सा सेवामा व्यस्त रहनुका बाबजुद छोटा फिल्म र म्युजिक भिडियो निर्देशन गर्दै आएका डा. कपिल रिजालले केवल खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र लिएर पर्वतबाट आफ्नो डेब्यु फिचर फिल्म ह्यारीकी प्यारी को सुटिङ शुरु गरेका छन्।

डा. रिजालले अनिवार्य खोप लिएका कलाकार र प्राविधिको सुटिङ युनिटका साथ पर्वत पुगी सोमबार भुक देउरालीमा मुहूर्त गरे ह्यारीकि प्यारीको सुटिङ शुरु गरेका हुन्। भुक देउरालीमा फिल्मका मुख्य कलाकार जितु नेपालका साथ विजय बरालले मुहुर्त सट दिएका थिए। एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार एवं ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको होम प्रडक्सन बिआर प्रडक्सनको ब्यानरमा निर्माणाधीन ह्यारीकी प्यारी उनका दन्त चिकित्सक पुत्र डा. कपिल रिजालले निर्देशन गर्दैछन्। लण्डनको दन्त चिकित्सा क्षेत्रमा लोकप्रियता कमाएका डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरू गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् भने नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। फिचर फिल्मतर्फ भने ह्यारीकि प्यारी नै उनको डेब्यु फिल्म हो।

निर्देशक डा. कपिल रिजालका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म फिल्मको सुटिङ हुनेछ भने बाँकी सुटिङ काठमाडौंका विभिन्न स्थानमा गरिनेछ। उनका अनुसार सुटिङ युनिट पर्वत प्रस्थान गर्नुअघि युनिटमा सहभागी सबै कलाकार तथा प्राविधिकको पीसीआर परीक्षण गरिएको थियो। खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको उनले बताए। पर्वत पुगेर पनि र्यापिड टेस्ट गरी स्वास्थ्य मापदण्ड अपनाएर सुटिङ अघि बढाइएको उनले बताए। डा. कपिलले फिल्म पूरै पारिवारका साथ बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण हुने प्रष्ट्याए।

फिल्ममा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उनको प्यारीका रूपमा देखिनेछन्। जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गर्दैछन्।

फिल्ममा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यु निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुसाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ।