मन्त्री आलेद्वारा पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द



 विमल विष्ट, काठमाडौं । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नु भएको छ । मन्त्रालयमा आज मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको नेपाल भारत मैत्री पशुपति धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनु भएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फर्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बतास समूहले सञ्चालन गर्दैन ।”

पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । पशुपति विकास कोष र बतास समूह अन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो ।

कोषले निर्माण गरेको संरचनामा बतास समूहले महँगो मूल्य लिँदै होटलको रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो । उक्त आरोप पछि मन्त्री आलेले उक्त धर्मशालाको आफै गएर अनुगमन गर्नु भएको थियो ।

अनुगमनका क्रममा धर्मशाला निर्माण गर्दा र सम्झौता भए बमोजिम बेडको सङ्ख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरू राखेको, कोषको स्वीकृति बिना धर्मशालामा विभिन्न संरचनाहरू निर्माण गर्ने जस्ता कार्यहरू गरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्