शिक्षाको बजेट कुल बजेटको २० प्रतिशत पुर्‍याइने

शिक्षामन्त्री पौडेलको ६ महिना

0
Shares

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक वर्षदेखि नै शिक्षालाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षाको बजेट कुल बजेटको २० प्रतिशत पुर्‍याउन सक्रिय भूमिका निर्वाह गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयको कार्यभार सम्हालेको ६ महिना पुगेको अवसरमा सुधार र उपलब्धिका बुँदा सार्वजनिक गर्ने क्रममा सोमबार यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । २५ बुँदे उपलब्धि र ५५ बुँदे सुधारका प्राथमिकतामध्ये शिक्षा बजेटमा वृद्धि गर्ने विषयलाई उच्च महत्वका साथ हेरिएको छ । मन्त्री पौडेलले सार्वजनिक गर्नुभएका उपलब्धि र सुधारका अन्य योजनाहरूमा भने अधिकांश पुराना छन् ।

मन्त्री पौडेलले सार्वजनिक गरेको उपलब्धिमा १० वर्षे ‘विद्यालय शिक्षा क्षेत्र योजना’ स्वीकृत भएको विषय पनि समावेश छ । विकास साझेदारसँग छलफल र समझदारी गरी शैक्षिक विकासमा थप सहयोगका लागि प्रतिबद्धता जनाइएको सो योजना आगामी साउन १ गतेबाट लागु हुनेछ । ६ महिने उपलब्धिमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको लागि प्रस्ताव माग गरी कार्यान्वयनको क्रममा रहेको, स्थायी शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोग नियमावली संशोधन स्वीकृत गरी १७ हजारभन्दा बढी शिक्षकको खुला प्रतियोगितामार्फत पदपूर्ति प्रक्रिया अगाडि बढाइएको उल्लेख छ ।

उपलब्धिको २२ औँ बुँदामा चिकित्सा शिक्षामा शुल्कसम्बन्धी गुनासो र समस्या समाधानका लागि स्थलगत अनुगमनलगत्तै गृह मन्त्रालय, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, विश्वविद्यालय, प्रतिष्ठानहरू र जिल्ला प्रशासन कार्यालय बीच छलफल गरी कानुनबमोजिम नियमन गर्न निर्देशन जारी गरिएको उल्लेख छ । चिकित्सा शुल्कको विषयमा मन्त्री पौडेलले गृहमन्त्री वालकृष्ण खाँणसँग कुराकानी गरी बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।

मन्त्रीको सो आग्रह हालसम्म कार्यान्वयन हुन सकेको छैन । अन्य उपलब्धिमा शैक्षिक सुधारका लागि असल अभ्यास गरेका विद्यालयका प्रधानाध्यापकहरूबीच अनुभवको आदानप्रदान गरिएको, विश्वविद्यालयका प्राध्यापक एवं शिक्षाविद्, प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री र गाउँपालिका तथा नगरपालिका महासंघका पदाधिकारीसँग शैक्षिक सुधारका मुद्दा र समाधानबारे छुट्टछुट्टै अन्तरक्रिया गरिएको, छात्रवृत्ति वितरण कार्यविधि स्वीकृत गरी प्रक्रिया अगाडि बढाइएको, राष्ट्रिय पुस्तकालय भवन निर्माण प्रक्रिया अगाडि बढाइएको लगायतका विषय उल्लेख छन् ।

छ महिने उपलब्धिकै रूपमा सोमबारबाट जमलमा राष्ट्रिय पुस्तकालय निर्माण प्रक्रिया अघि बढेका छ । यसका लागि राष्ट्रिय पुस्तकालय कार्यालयले टेन्डर आह्वान गरेको छ । त्यस्तै, चितवनमा शिक्षक अस्पताल निर्माण गर्न प्रस्ताब पेश भएको छ । उपलब्धिमा मापदण्ड पूरा गरेका अस्पताललाई नर्सिङ कार्यक्रममा भर्ना गर्न निर्देशन दिइएको, चीनका विभिन्न विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका तर कोभिडको कारण फर्किन नपाएका विद्यार्थीहरूको समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको विषय पनि उपलब्धिमा समेटिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष र नेपाल खुला विश्वविद्यालयको कुल सचिव पदको पदपूर्ति गरिएको, प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास ऐन, संघीय शिक्षा ऐन, स्वास्थ्य प्रतिष्ठान सञ्चालनसम्बन्धी एकीकृत ऐन, उच्चशिक्षा ऐन, राष्ट्रिय योग्यता ढाँचा, सिक्दै कमाउँदै कर्यक्रमको कार्यविधि मस्यौदा तयार भई स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइएको, पढ्दै कमाउँदै कार्यक्रमको कार्यविधि स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको पनि उपलब्धिमा उल्लेख छ ।

मन्त्री पौडेलले सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरिने, सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने, कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाई गुणस्तरीय एवं रंगीन बनाइने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याइने विषयलाई सुधारको विषयमा राखिएको छ ।

त्यस्तै निजी विद्यालयहरूले सरकारले तोकेको मापदण्डअनुसार छात्रवृत्ति उपलब्ध गराए नगराएको बारे प्रभावकारी अनुगमन गरिने, शैक्षिक गुणस्तरमा सुधार ल्याउन हरेक क्षेत्रको सूक्ष्म अनुगमन गर्ने गरी संयन्त्रको विकास गरिने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनलाई क्रमशः कार्यान्वयन गरिने, तीन वर्षभित्र सबै सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार तयार गर्ने गरी स्रोत परिचालन गरिने सुधार शीर्षकमा उल्लेख छ ।

विज्ञान क्षेत्रअन्तर्गत विधि विज्ञान क्षेत्रको प्रभावकारिता अभिवृद्धि गर्न फरेन्सिक अडियो भ्वाइस एनालाइसिस सेवाको आरम्भ गर्ने, विज्ञानतर्फ आमनागरिकको सिकाई तथा बुझाई प्रवद्र्धन गर्न कीर्तिपुरमा ‘साइन्स सिटी’ को निर्माण प्रक्रिया अगाडि बढाउने, रासायनिक पदार्थको सुरक्षित प्रयोग, व्यवस्थान र नियमनसम्बन्धी ऐनको व्यवस्था गरी कार्य गरिने, विज्ञान मेलाको आयोजना गरिने, खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्याउन जंगली खाद्य बिरुवाहरूसम्बन्धी अध्ययनअनुसन्धान गरिने, दोस्रो चरणको नानो स्याटेलाइट प्रक्षेपण गर्ने कार्यलाई निरन्तरता दिइने विषय पनि छ महिने उपलब्धिको प्राथमिकतामा उल्लेख छ ।

उच्च शिक्षाअन्तर्गत उच्च शिक्षालाई नियमन र व्यवस्थित गर्न नेपाल विश्वविद्यालय ऐनको व्यवस्था गरिने, विभिन्न विश्वविद्यालयबाट योजनाबद्ध जनशक्ति उत्पादनको लक्ष्यलाई प्रक्षेपण गरिने, त्रिविलगायत सबै विश्वविद्यालयको भौतिक सम्पत्तिको संरक्षण गरिने, आंगिक तथा सामुदायिक क्याम्पसको संख्या वृद्धि गरिने, विश्वविद्यालयमा विद्यार्थीहरूको असमान वितरण क्रमशः न्यूनीकरण गरिने, खुला विश्वविद्यालयको कार्यक्रमलाई थप विस्तार गरिनेछ ।