तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम सञ्चालनको तयारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) र विराटनगर महानगरपालिकाबीच तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम सञ्चालनका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको समुपस्थितिमा सोमबार आज सिंहदरबारस्थित रेडियो नेपालमा भएको समझदारी पत्रमा रेडियो नेपालका तर्फबाट कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हस्ताक्षर गरे ।

समझदारी–पत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले विराटनगरस्थित तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम नमुना सञ्चारग्रामका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

मन्त्री कार्कीले सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने सरकारको लक्ष्य अनुसार पहिलो सञ्चारग्रामको निर्माण ऐतिहासिक भएको भन्दै यसको विकासका लागि मन्त्रालयले नीतिगत र निर्णयगत सहयोग गर्ने बताए ।

समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रेडियो प्रसारणको इतिहासमा तारणीप्रसाद कोइरालाको भूमिका र उनको सम्मानमा स्थापना गरिएको सञ्चारग्राम नेपालकै लागि एक नमुना र महत्त्वपूर्ण सञ्चारग्राम बन्ने धारणा राखे ।महानगर प्रमुख पराजुलीले रेडियो नेपालको स्थापना दिवसको अवसरमा महानगर एफएम र सञ्चारग्राम एकसाथ सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी समेत दिए।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम पूर्वी नेपालको महत्त्वपूर्ण डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने जानकारी दिए । उनले सो सञ्चारग्राम आगामी चैत २० गते रेडियो नेपालको वार्षिकोत्सवका दिन पारेर सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

विराटनगर महानगरपालिकाको खारजी भन्ने स्थानमा निर्माण गरिएको तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामले रेडियो नेपालको प्रादेशिक प्रसारण सञ्चालनका साथै क्रियाशील सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन, महानगर एफएम सञ्चालन, गीत सङ्गीत तथा श्रव्य सामग्री उत्पादन, पूर्वेली कला संस्कृति र सृजनाको व्यावसायिक रुपमा प्रवर्द्धन गर्ने लगायतको उद्देश्य राखेको छ ।