मेयरद्धारा वडा अध्यक्षलाई कारबाही


माघ  । 

सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले वडा नं. १ का वडाध्यक्ष शान्त कुमार ऐरीलाई कारबाही गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा उजुरी परेपछि गत मंसिर १ गते वडाध्यक्षलाई कारबाही गर्न लेखेको पत्रअनुसार मेयर पुनले वडाध्यक्ष ऐरीलाई कारबाही गर्नुभएको हो ।

कारबाहीस्वरुप नगर प्रमुख गोविन्दकुमार पुनले वडाध्यक्ष ऐरीको सम्पूर्ण अधिकार आफ्नो हातमा लिनुभएको छ । वडाध्यक्षको अधिकार आफ्नो हातमा लिएपछि अहिले वडा नं १ को वडा कार्यालयबाट पञ्जी करणबाहेकका सबै काम बन्द भएका छन् । बन्गाड कुपिण्डे नगरपालिका १ बन्गाड खोला र अम्रा खोलामा तटबन्ध निर्माणका लागि आएको तर वडाध्यक्ष ऐरीले अम्रा खोलामा मात्र जाली हालेको भन्दै अख्तियारमा मुद्दा परेको र त्यसको छानबिनका लागि वडाध्यक्षलाई तत्कालका लागि काम गर्न नदिन भनी पत्र आएपछि कारबाही गरेको नगरपालिका प्रमुख मेयर गोविन्दकुमार पुनले बताउनु भयो ।

अख्तियारबाट अर्को पत्र नआउँदासम्म वडाध्यक्षले कुनै काम गर्न नपाउने उनले जानकारी गराउनु भयो । वडामा रहेका तीन जना वडा सदस्यको बैठकले एक जनालाई कावा अध्यक्षको जिम्मेवारी दिएर काम गर्ने निर्देशन दिएको उहाँको भनाइ छ ।उहाँका अनुसार आर्थिक वर्ष ०७७-०७८ मा कर्णाली प्रदेश सरकारले तटबन्धका लागि तार जाली हाल्न २५ लाख बजेट विनियोजन भएको थियो । खाने पानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानमार्फत कार्यान्वयन भएको उक्त बजेटबाट बन्गाड कुपिण्डे नगरपालिका १ बन्गाड खोलार अम्रा खोलामा तार जाली हाल्ने कार्यक्रम रहेको थियो ।

उक्त योजना सञ्चालनका लागि बन्गाड कुपिण्डे नगरपालिकाकी उपप्रमुख मञ्जु ऐरी र वडाध्यक्ष शान्त कुमार ऐरीले उपभोक्तालाई थाहा नदिई गोप्य रूपमा एक घरका परिवारबाट उपभोक्ता समिति गठन गराएको पत्रमा उल्लेख गरिएको छ । नगर उपप्रमुखले आफूमा नभएको अधिकार प्रयोग गरी योजना सम्झौताको सिफारिस लेखिदिएको समेत पत्रमा उल्लेख छ ।

उपप्रमुख मञ्जु ऐरी र वडाध्यक्ष शान्त कुमार ऐरीको मिलेमतोमा भ्रष्टाचार गरेको भन्ने ब्यहोराको उजुरी अख्तियारमा दर्ता भएको र आयोगको मिति २०७८ असोज ७ गतेको निर्णयअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावली २०५७ को नियम ९ बमोजिम आवश्यक कारबाहीका लागि आयोगले ०७८ मङ्सिर १ गते पत्र पठाएको थियो ।

वडाध्यक्ष शान्त कुमार ऐरीले आफूले नियम संगत काम गरेको, कुनै बदमासी नगरेको तर राजनीतिक प्रतिशोधका कारण आफूलाई मुद्दा हालेको बताउनु भएको छ । जनताको हितका लागि राम्रो काम गरेको देखेर रुष्ट भएका नगर प्रमुखका टिमले नै मुद्दा हालेको उहाँले जानकारी गराउनु भयो । उहाँले आफूले प्राप्त गरेको अधिकारअनुसार काम गर्न पाउने दाबी गर्नुभएको छ् ।

बन्गाड कुपिण्डे नगरपालिकाकी उपप्रमुख मञ्जु ऐरीले नगर प्रमुख कार्यालयमा नआउने गरेका र उपभोक्ता पटक पटक कार्यालयमा आएपछि बाध्य भएर आफूले सिफारिस गरेको बताउनु भएको छ । आर्थिक चलखेल नभई राजनीतिक प्रतिशोधकै कारण आफूलाई पछि पार्न चलखेल गरिएको उहाँले बताउनु भयो ।