त्यो अछुत कोरोना…

0
Shares

  • मोतीराम तिमल्सिना

२०७७ कार्तिक १९ गते पहिलो संक्रमण
२०७८ माघ ६ गते दोस्रो संक्रमण
कोरोना भाइरस । त्यो अछुत कोरोना अहिले सहज भएको छ । सबैका घर घरमा, भान्सा भान्सामा,  टोल र समुदाय हुँदै सिङ्गो वडा, पालिका, जिल्ला हुँदै राष्ट्रभर फैलिएको छ । फरक यति छ त्यति बेला कोरोना लागेकै कारण गरिने अछुत व्यवहार यो पटक छैन । भएन र अब हुँदैन पनि । जो पहिलो, दोस्रो र तेस्रो चरणको संक्रमणमा समेत संक्रमित भएको उसका फरक फरक अनुभूति हुन सक्छन् तर संक्रमण नै नभएका व्यक्तिहरूका लागि पनि यो पटक ओमिक्रोनको सक्रमणको छिटा भने लागिसकेको हुनुपर्छ । छैन भने अवश्य लाग्नेछ । विगतमा एउटालाई संक्रमण भए पछि आफू मात्रै संक्रमित भएर अरूलाई बचाउने भन्ने यो पटकको संक्रमणमा कमै देखिन्छ । लक्षण नभए पनि परीक्षण गर्दा पोजेटिभ देखिएका, लक्षण भएर पनि परीक्षण नगरिएका थुप्रै उदाहरण छन् ।

त्यति बेला सरकार चनाखो थियो । सर्वसाधारण त्रसित थिए । अहिले सरकार सुतेको छ नागरिक चनाखो छन् । कोभिडको परीक्षण निःशुल्क थियो । अहिले सर्वसाधारणको पहुँच निःशुल्कमा छैन । एन्टिजेन परीक्षण सर्वसुलभ छैन । स्थानीय, प्रदेश र संघ सरकारले समेत पहिलो र दोस्रो चरणमा जस्तो सक्रियता देखाएका छैनन् । जेनतेन काम त सुरु गरेका छन् तर बिरामी भई हाल्यो भने खबर गर्नुस् है भन्दै टार्ने गरेका छन् । पालिकाहरूमा गठित सिआईसिटी टिमले सम्भव भएसम्म सूचना लिने गरेको छ । व्यक्ति जति संक्रमित भए पनि मृत्यु दर नभएकाले संक्रमणबाट कोही डराएको छैन । डराउने अवस्था पनि छैन । डराएर अर्थ पनि छैन । तर घर घरमा, व्यक्ति व्यक्ति स्वयम कोरोनाको डाक्टर भने बनेको छ । आफूलाई पोजेटिभ आएको होस वा नहोस् उसले अरूलाई दिने अर्ति एक पेजको हुन्छ आफै भने कार्यान्वयन गर्दैन ।

फर्कौँ विषय तर्फ । २०७७ कार्तिक १९ गते पहिलो संक्रमण । केही दिन अघि जिल्लाका अग्रज पत्रकार विष्णु चौलागाईलाई कोरोनाकै कारण गुमाउन पुगेका थियौँ । त्यही सेरोफेरोमा म आफै संक्रमित भएँ । जिल्लाका दर्जन भन्दा धेरै पत्रकार साथीहरू संक्रमित थिए । संक्रमित पत्रकारहरुको स्वास्थ्य सहजताका लागि कोरोना बिमा पत्रकार महासंघले गरेको थियो । केही साथीहरूको बाहेक अधिकांशको कोरोना बिमा बापतको रकम अझै भुक्तानी हुन सकेको छैन ।

सरकारले अर्थ मन्त्रालय मार्फत नागरिकहरूको बिमा बापतको रकम भुक्तानी यति लामो समयसम्म गर्न सकेको छैन ।

नियत नै सरकारको खराब भएकाले तत्कालीन सरकारले नागरिकहरू प्रति गरेका जन पक्षिय निर्णयलाई कार्यान्वयन गराउन आलटाल गरिरहेको छ । महसंघ मार्फत पत्रकार र कर्मचारीहरूसँगै मिडिया संचालकहरुलाई समेत राहत र स्वास्थ्य सामाग्री उपलब्ध गराईएको थियो । फिल्डमा हुँदा होस वा नहोस् नागरिकहरूको जीवन रक्षा पहिलो शर्त थियो । अहिले न त महासंघले बिमा बापतको रकम भुक्तानी नहुँदा केन्द्रीय स्तरबाट पहल गरेको देखियो न संचारकर्मीहरु बिरामी हुँदा नियमित सम्पर्कमा रह्यो । राजधानीमा उपचार नपाएर पत्रकारले मृत्यु वरण गरिरहँदा जिल्लामा को को संचारकर्मीहरु संक्रमित छन् भन्ने सूचना समेत महासंघले संस्थागत रुपमा लिन नचाहेको अनुभूति भयो । सरकारले नागरिकहरूको बिमा बापतको मात्रै होइन भूकम्पका बेला निर्माण गरिएका घरहरूको दोस्रो र तेस्रो किस्ता समेत रोकेको छ । विद्यालयहरूको पुनर्निर्माण गरिएको रकम रोकेको छ । रासायनिक मल अभाव हुँदा चासो राखेको छैन । नागरिकहरू भन्न थालेका छन् बरु तीन तहकै सरकारका प्रतिनिधिहरू बग्रेल्ती चोकमा भेटिन थाले नागरिकहरूलाई आवश्यक पर्ने सिटामोल र रासायनिक मल पाउन सकिएन । त्यति बेला घर भित्रको एकान्त बास अहिले खुल्ला भएको छ ।

त्यति बेला कोरोना भयो भन्ने लितिक्कै समाजमा, टोलमा अनि समुदायमा योगदान पुराएका व्यक्तिहरूलाई त समुदायका व्यक्तिहरूले गर्ने व्यवहार नीच थियो । घर अघिको बाटोमा समेत छेउ छेउ लाग्ने, फोन गर्दा समेत भाइरस सर्छ जस्तै गर्ने ? अझ नजिकका व्यक्तिहरू नै कोरोना सर्छ भनेर अनुहार समेत नहेर्ने प्रवृत्तिले व्यक्तिको मनोबल उचो होइन निराशा पैदा गरिरहेको थियो । पाँचखालमा श्रीमानलाई कोरोना भएको रिपोर्ट गलत दिएका कारण श्रीमती र परिवारले घरमा भएको गाई सहित आईसोलेसनमा ल्याएर बस्नु परेको थियो । नगरपालिकाले गाईलाई घाँस काट्ने व्यक्ति नियुक्ति गरेको थियो । संक्रमण नभएको तर संक्रमित व्यक्तिको नजिक पुगेको आशंकामा गाईको दुध कसैले खाएनन् ।  त्यति बेला कोरोना हुनु भनेको ठुलो अपराध हो भन्ठान्नेहरू आज पटक पटक संक्रमित भई सकेका छन् ।

विश्वव्यापी कोरोनाले सङ्कट निम्त्याएको छ । पहिलो र दोस्रो चरणको संक्रमण भन्दा तेस्रो चरणको संक्रमण चाँडो फैलने तर कम क्षति पुर्याउने खालको रहेछ । संक्रमण भए पछि व्यक्तिलाई हुने आलश्यता, सामान्य ज्वरो, ज्वरोका कारण हुने दुखाई, घाँटी दुख्ने, खोकी लाग्ने, नाक बन्द हुने सामान्य लक्षण रहेछन् । सुगर, प्रेसर, दम, क्यान्सर तथा अन्य दीर्घ रोग हुने व्यक्तिहरूलाई अक्सिजनको मात्रा कम हुने सम्भावना रहेछ । नियमित चिकित्सकसँगको परामर्शमा तातो पानी खाने र बाफ लिने, सिटामोलको प्रयोग गर्ने, घरायसी खानेकुरामा जोड दिने गर्न सकियो भने तीन दिन पछि अलिक आराम हुने रहेछ । ज्वरो घटे पछि जिउ दुख्न कम हुन्छ । तातो पानीको बाफ लिँदा बन्द भएको नाक खुल्न पुग्छ । गारगिल गर्न सकियो भने घाँटी पनि खुल्छ । दोस्रो चरणको जस्तो भाइरस फोक्सोमा नजाने भएकाले जोखिम कम भनिएको हो कि ? दोस्रो चरणमा अक्सिजन कम हुने, फोक्सोमा आक्रमण हुँदा निमोनिया हुने र व्यक्तिको निधन हुने गरेको थियो । यो पटक भाइरस एक जनालाई भए पछि धेरैलाई फैलन सक्ने तर कमजोर भएकाले चाँडै निको हुने गरेको पाइयो ।

अहिले चिने जानेका मात्रै होइन अधिकांश नागरिकहरू कोरोना भाइरसका कारण संक्रमित छन् । बजारमा सिटामोल छैन । सिटामोल किन्न जाँदा छैन भन्ने जवाफ साता देखि सुनिदै छ । सरकार गफ हाकिँरहेको छ । सबै ठिक छ । अस्पतालमा बेड भरिएका छैनन् । बेड आवश्यक परेको छैन । संक्रमणको ग्राफले अस्पताल आवश्यक परेको भए अहिले कस्तो सङ्कट निम्तिन पुग्थ्यो होला ? सहज कोरोनामा असीमित संक्रमित हुँदा सिटामोल त व्यवस्थापन हुन सकेको छैन भने अस्पताल र शय्या आवश्यक हुँदा सरकार के गर्थ्यो होला ? नागरिकहरू आफै सचेत हुनु, आफ्नो लागि आफै व्यवस्थापन गर्नु बाहेक अरू कुनै आस छैन । त्यो अछुत कोरोनाले निम्त्याएका सङ्कट, भोगेको पीडा यो कोरोनामा बेहोर्नु परेन । अस्पताल जाँदा स्वास्थ्यकर्मी र बिरामीहरूको चित्कार, सडकमा नागरिकहरूको चित्कार यो महामारीमा मात्रै होइन यस्ता कुनै पनि महामारीमा सुन्न नपरोस् । नागरिकहरूको रक्षार्थ राजनीतिक दल र सरकार गैह्र जिम्मेवार हुन मिल्छ र ?

२०७८ माघ ६ गते दोस्रो संक्रमण । सहकर्मीहरुसँग कार्यक्षेत्रमा रहँदा रहँदै असहज अनुभूति भयो । ‘फेल्कजन’ बिहान बेलुका खाएर जिम्मेवारी पुरा गर्ने प्रयत्न गरियो । अघिल्लो रातबाटै सुरु भएको जिउ दुख्ने र १०० डिग्री ज्वरो आउने क्रम नरोकिए पछि प्रादेशिक ल्याब धुलिखेलमा पुगेर सिपिआर गरेँ । परीक्षण नगर्दै थाहा थियो पोजेटिभ आउँछ । प्रविधिले एसएमएससँगै अनलाइन रिपोर्ट प्राप्त भयो । पहिलो चरणमा संक्रमण हुँदाको सिटी भ्यालु भन्दा धेरै कम थियो । त्यसको कुनै परवाह यो पटक भएन । माघ ९ गतेबाट स्वास्थ्य सामान्य अवस्था तर्फ उन्मुख भयो । पहिले जस्तो सामाजिक सञ्जालमा नराखिएका कारण तनाव झेल्नु परेन । संक्रमण भएर पनि घरमा सक्रमित जस्तो गरी बस्नु परेन । निरन्तर सूचना पाउने आफन्त र साथीहरूको उत्साह र उमङ्ग निरन्तर रह्यो । कमजोर भाइरस, उच्च मनोबल र पहिलो अनुभवका कारण पनि यो पटकको भाइरस म भन्दा बलियो भन्न सकेन ।