४९ वर्ष देखि ‘दम्पती’ फरार

जिल्ला भर ३ सय ९७ फरार, कर्तव्य ज्यानका ९ वर्ष पछि पक्राउ 


मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल-जिल्ला अदालत काभ्रेपलान्चोकले फरार व्यक्तिहरूको सूचीलाई अद्यावधिक गरेको छ । स्थानीय तह अनुसारका पालिकाहरूमा भएका फरार व्यक्तिहरूको सूची अद्यावधिक गरी तत्काल पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेको छ । मसिंर मसान्तसम्म ३ सय ९७ जना फरार छन् ।

२०२९ साल असार १६ गते तत्कालीन बेखसिम्ले गाविसका रत्न पहरी र ठुली पहरीलाई गर्भपतन गराएको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । अदालतले दुबैजनालाई १ वर्ष कैदको फैसला सुनाएको थियो । त्यति बेला गरिएको फैसला अझै कार्यान्वयन भएको छैन । भुम्लु गाउँपालिकामा मात्रै ३६ जना फरार छन् । भुम्लुकै दावा भन्ने दावा घिसिङ्ग लामा बैकिङ्ग कसुर मुद्दामा फरार छन् ।

१ वर्ष कैद सुनाइएका दावाको २०७३ असार २९ गतेको फैसला हो । सोही गाविस वडा नम्वर २ कै बेखसिम्लेका दावा तामाङ जर्बजस्ति करणी मुद्दामा फरार छन् । जिल्लामा पछिल्लो समय बैकिङ्ग कसुर र चेक अनादर सम्बन्धी मुद्दाका फरार धेरै छन् । जर्बजस्ति करणी, सम्बन्ध विच्छेद, बहुविवाह, लिखत बदर, सवारी ज्यान, अंगभङ्ग सम्बन्धी मुद्दाका फरार धेरै हुन थालेका छन् । प्रहरीले फरार व्यक्तिहरूको खोजि कार्य तीव्र पारेको छ ।

जिल्लाको खानिखोला गाउँपालिकामा ११ जना फरार छन् । सार्वजनिक अपराध, गाली बेईज्जती, कुटपिट र चोरी लगायतका अभियोगमा कैद र जरिवाना तोकेको थियो । चौर देउराली गाउँपालिकाका २९ जना फरार छन् । सजाय तोकिएका व्यक्तिको खोजीमा प्रहरी परिचालन गरिएको छ । २९ मध्ये १३ जना बैकिङ्ग कसुर अभियोगमा कैद र जरिवाना सुनाइएका व्यक्ति छन् । तेमाल गाउँपालिकामा ४९ जना फरार छन् । २०५५ सालमा पुनरावेदन अदालत पाटनले फैसला गरेको कुटपिट मुद्दाका नारायणप्रसाद खरेलको सजाय १ वर्ष ३ महिना १५ दिन कैद र ७ हजार ७ सय ५० जरिवाना छ । मेच्छे गाविस ४ का साहिला तामाङलाई ज्यान मार्ने अभियोगमा ५ महिना कैद तोकिएको छ । उनी फरार छन् ।

सदरमुकाम धुलिखेल नगरपालिका भित्र ८३ जना फरार छन् । धुलिखेलका सन्तोष पोखरेल बैकिङ्ग कसुरमा कैद सुनाइएका व्यक्ति खुलेआम छन् । उनले ४ लाख ५ हजार जरिवाना र १६ हजार २ सय पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ । धुलिखेलकै रामेश्वर श्रेठ, जनक तिमल्सिना पनि फरार छन् । नमो बुद्ध नगरपालिकाका ४८ व्यक्ति फरार छन् । पनौतीका १ सय ४१ जना फरार छन् ।

सबै भन्दा धेरै फरार पनौतीमा छन् । पाँचखालमा ३३ जना फरार छन् । पाँचखाल, मण्डनदेउपुर लगायतका क्षेत्रबाट चेलीहरू लगेर बेचबिखन गर्ने सरस्वती विश्वकर्मा २०५४ साल देखि फरार छिन् । मानव बेचबिखन सम्बन्धी मुद्दामा अदालतले उनलाई १ वर्ष ५ महिना २ दिन कैद सुनाएको थियो । २०५४ साल मसिंर ५ गते सुनाइएको उक्त फैसला अझै कार्यान्वयन हुन सकेको छैन ।

बनेपा नगरपालिका भित्रका १ सय ११ जना फरार छन् । पनौती पछि दोस्रो धेरै फरार भएको क्षेत्र बनेपा हो । भारतले नाकाबन्दी लगाएको बेला पम्पमा नक्कली मेशिन जडान गरी उपभोक्ता ठगी गर्ने जनगालमा रहेको प्रेट्रोलपम्पमा सञ्चालक पार्वती विष्ट अझै फरार छिन् ।

उनलाई अदालतले ४ महिना कैद र ५ हजार जरिवाना सुनाएको थियो । बनेपाका सागर भैल २०७५ साल मसिंर ३ गते भ्रष्टाचारजन्य कसुरमा दोषि ठहर भए । उनलाई कैद र ११ हजार जरिवाना तोकिएको छ उनी फरार छन् । बेथान्चोक गाउँपालिकाका १७ जना फरार छन् । २०४० साल चैत्र १४ गते साधारण चोरीमा बेथान्चोकका जसमान तामाङलाई १४ दिनको कैद सुनाइएको थियो । त्यति बेलाको फैसला अझै कार्यान्वयन भएको छैन ।

मण्डनदेउपुर नगरपालिकाका ४७ जना फरार छन् । महादेवस्थान ८ घर भएका भरत सापकोटाले काठमाडौँमा चामुण्डा निर्माण कम्पनी सञ्चालन गरेका थिए । उनको कम्पनी मार्फत गरिएको कारोबार मा बैकिङ्ग कसुर गरेको अभियोगमा कैद र जरिवाना सुनाइएको छ ।

महाभारत गाउँपालिकामा १७ जना फरार छन् । फोक्सिङ्गटार ३ घर भएका दावा तामाङलाई मानव बेचबिखन तथा ओसार पसार अभियोगमा ११ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको छ । २०७० जेठ १४ गतेको फैसला कार्यान्वयन भएको छैन । उक्त मुद्दामा सोही ठेगानाका ज्वाला भनिने रविलाल तामाङ पनि फरार छन् । रोशी गाउँपालिकामा ६० जना फरार छन् । भिमखोरी ८ का गुणराज लामाले वैदेशिक रोजगारका क्रममा ठगी गरेका थिए । २०७४ भदौ ८ गते वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई कैद सुनाएको थियो । त्यस्तै रोशीकै मंगलटार ८ का शम्भु थापाले ठगी गरेको अभियोगमा काठमाडौ जिल्ला अदालतले २०५९ पुष ८ गते ५ वर्ष कैद र ५ लाख ४७ हजार ५ सय जरिवाना सुनाएको थियो ।

९ वर्ष पछि पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका युवालाई पक्राउ गरेको छ । माघ ४ गते साँझ विशेष प्रहरी टोलीले साबिक चलाल गणेश स्थान गा.वि.स. वडा नं. ३ हाल बेथान चोक गाँउपालिका वडा नं. ४ बस्ने वर्ष २५ को फौदे भन्ने पोते तामाङलाई नियन्त्रणमा लिई अदालतमा बुझाईएको प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनु भयो ।

२०६९ कार्तिक ८ गते काभ्रेपलान्चोक चलाल गणेशस्थान गा.वि.स. वडा नं. ०२ स्थित गणेश निम्न माध्यमिक विद्यालयको सांस्कृतिक कार्यक्रममा आएका मानिसहरू मध्ये काभ्रेपलान्चोक जिल्ला च्यासिङ्गखर्क गा.वि.स. वडा नं. ०९ का मानिसहरू र चलालगणेशस्थान गा.वि.स. वडा नं. ०३ का मानिसहरू बिच झगडा हुँदा झगडाको क्रममा काभ्रेपलान्चोक जिल्ला च्यासिङ्गखर्क गा.वि.स. वडा नं. ०९ बस्ने वर्ष १८ को एन्जल तामाङलाई फौदे भन्ने पोते तामाङ समेतले धारिलो हतियार छुरा, लाठ्ठी मुक्का प्रहार गरी कर्तव्य गरेको मुद्दद्दा दर्ता भएको थियो ।

इलाका प्रहरी कार्यालय बनेपाबाट मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान पश्चात् अभियोग जिल्ला अदालत काभ्रेपलान्चोकमा दायर गरिएको थियो । २०७४ असार १४ गते अदालतको फैसलाले फौदे भन्ने पोते तामाङलाई २० वर्ष कैद सजाँय ठहर गरिएको थियो । उनै फरार रहेका फौदे भन्ने पोते तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध घरेलु मदिरा नियन्त्रण 

माघ ४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिन गएको विशेष प्रहरी चेकिङ टोलीले काभ्रेपलान्चोक जिल्ला अन्तर्गतको अरनिको र बि.पी. राजमार्ग आसपासका होटल पसलहरूमा रात्रिकालीन व्यापारीहरूले बिक्री वितरणको लागि राखिएको अवैध घरेलु मदिरा ५ सय २५ लिटर नियन्त्रणमा लिई स्थानीय रोहबरमा आन्तरिक राजश्व कार्यालय धुलिखेल काभ्रेपलान्चोकमा बुझाई आवश्यक कानुनी प्रक्रिया पश्चात् सुरक्षित स्थानमा नष्ट गरिएको छ ।