बुटवलमा नृत्य कार्यशाला



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ नेपाल रुपन्देही जिल्ला समितिको व्यवस्थापनमा रूपन्देहीको शँकरपुर (बुटबल) मा नृत्य सिक्ने र सिकाउने कार्यशाला चलेको छ। मंगलबारबाट राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८ शुरु भएको हो।

यो कार्यशालाको मंगलबार दिउँसो लुम्बिनी प्रदेशकी कानुन, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा संस्कृतिमन्त्री रमा घर्तीमगरले शुभारम्भ गरिन्। लुम्बिनी प्रदेशमा पनि चाँडै लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने जनाउँदै उनले कार्यशालाका सहभागीले एक–आपसमा नृत्य सिक्नु सिकाउनु प्रशंसनीय कार्य भएको बताइन्। आज बिहीबारसम्म चल्ने कार्यशालामा सहभागी सबैले एउटा एउटा नृत्य प्रशिक्षण दिनुका साथै सम्बन्धित नृत्यको कार्यपत्र पनि प्रस्तुत गर्ने सहजकर्ता राजेश थापाले बताए। उनका अनुसार कार्यशालामा सातै प्रदेशबाट २४ जना नृत्य निर्देशक तथा कलाकार सहभागी छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य तथा नृत्य विभाग प्रमुख नमुना शर्माले एकले अर्कालाई सिक्न सिकाउनका लागि आफूहरूले नेपालभरका नृत्यकारलाई एकै थलोमा ल्याएको बताइन्।

गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कार्यशालामा आफूले पनि धेरै कुरा सिक्ने विश्वास व्यक्त गरे। कार्यशालामा पहिलो दिन मंगलबार प्रदेश १ बाट नृत्य निर्देशक नवीन्द्र राईले साकेला नृत्य सिकाए। उनले कार्यशालामा साकेलाको कार्यपत्र पनि प्रस्तुत गरेका थिए। प्रदेश १ बाटै ओम प्रकाश बस्नेतले राजवंशी सुमदायको हुदु दुरा नृत्य सिकाए। उनले नृत्यको कार्यपत्र पनि प्रस्तुत गरे। उनले बुधबार सतार नृत्य र प्रदेश २ को सामा चखेवा नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुत गरे।

सुदुरपश्चिम प्रदेशबाट छलिया, हुड्केली नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुति कार्यक्रम रहेको सहजकर्ता राजेश थापाले जानकारी गराएका छन्। यसैगरी, कर्णाली प्रदेशबाट सरँग्या, पैंस्यारु र ट्याम्कुली नृत्य प्रशिक्षणसँगै यी नृत्यको कार्यपत्र प्रस्तुत गरिने भएको छ। लुम्बिनी प्रदेशबाट अनु रजकले थारू समुदायको बड्की र झर्रा नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुत गर्नेछिन्।

कार्यशालामा गोरे गुरुङ, बमबहादुर गुरुङ, राजबहादुर गुरुङको समूहले गण्डकी प्रदेशबाट कृष्ण चरित्र, सोरठी, घाटु र कौडा नृत्यको कार्यपत्रसँगै नृत्य प्रशिक्षण दिनेछन्। यस्तै, प्रदेश ३ बाट भक्तपुरको राजारानी नृत्य प्रशिक्षण एवम् कार्यपत्र प्रस्तुत हुनेछ। प्रदेश ३ बाटै सुरेन्द्र देसार ललितपुरको धिमे, घिन्तामै नृत्य प्रशिक्षण एवं कार्यपत्र प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्