ऐन, कानुनको अधीनमा रही यथाशक्य सुकुम्वासीलाई लालपुर्जा बाँड्छौं : अध्यक्ष पौडेल

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीका नवनियुक्त अध्यक्ष राम कुमार पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ । बागमती प्रदेशसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीको कार्यालय स्थापना गरी समितिका नवनियुक्त अध्यक्ष पौडेलले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै समितिका अध्यक्ष पौडेलले आफ्नो कार्यकालमै जिल्लाका भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरेर जमिनको स्वामित्व दिलाएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । अहिले सम्म बनेको ऐन, कानुन, विगतमा आयोगले गरेको राम्रो कामको परिधि भित्र रहेर र स्थानीय तहसँगको समन्वयमा छिटो र ठिक ढङ्गले सुकुम्वासी जनतालाई जमिनको लालपुर्जा वितरण गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य राजन दाहालले सिन्धुलीको सुकुम्वासी समस्या र अव्यवस्थित बसोबासलाई आयोगले प्रभावकारी ढङ्गले समाधान गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सुकुम्वासी नागरिकलाई जमिनको लालपुर्जा वितरण गर्दा सरकारको राजश्वमा पनि वृद्धि हुने बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले लालपुर्जा वितरण गर्ने काम समितिको लागि एक किमिमको कठिन काम भए पनि राम्रो तरिकाले काम गरेमा सुकुम्वासी नागरिकलाई न्यायको पनि अनुभूति गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलको तर्फबाट बोल्दै नेपाली काँग्रेस सिन्धुलीका सचिव कृष्णराज दाहालले जिल्लाका भूमि सम्बन्धी समस्याहरूको हल गर्न र वास्तविक सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरण गर्न सबै राजनीतिक दलहरू एकमत हुनुपर्ने धारणा राख्नुभयो ।

नवनियुक्त अध्यक्ष पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीको अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष नियुक्त भएका पौडेल नेकपा (माओवादी केन्द्र) सिन्धुलीका जिल्ला संयोजक हुनहुन्छ ।

समितिमा अध्यक्ष बाहेक अन्य तीन जना राजनीतिक दलमा नियुक्त हुने समितिका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँ मरिण बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत हुनुहुन्छ । कार्यक्रममा नेकपा९एकीकृत समाजवादी० सिन्धुलीका उपाध्यक्ष चित्र लुङ्गेली, जसपा सिन्धुलीका अध्यक्ष सुरत बहादुर स्याङतान लगाएको उपस्थिति रहेको थियो ।