सल्यान जिल्ला अदालतका न्यायाधीशसहित कर्मचारीलाई कोरोना देखिएपछि बन्द

0
Shares

सरिता चलाउने, सल्यान ।

सल्यान जिल्ला अदालतका न्यायाधीश सहित अन्य कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अदालतले अति आवश्यक मुद्दामा मात्र सेवा प्रवाह गर्ने भएको छ ।   एन्टिजेन परीक्षण गर्दा न्यायधिश सहित अन्य कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले सबै सेवा प्रवाह गर्न नसकिने जनाएको छ ।

अदालतले बुधवार एक सूचना जारी गर्दै हदम्याद सकिने फिराद पत्र, उजुरी पत्र, प्रतिउत्तर पत्र तथा अभियोग दर्ता, प्रतिवादीको बयान तथा थुनछेक आदेश, पक्राउ पुर्जी जारी तथा जरुरी पक्राउ पुर्जी स्वीकृति, हिरासत निगरानी कक्षमा राख्ने अनुमतिको आदेश दिने लगायतका सेवा मात्र प्रवाह हुने उल्लेख गरिएको छ ।

यही माघ ७ गतेसम्मका लागि सेवा कटौती गरिएको सूचनामा उल्लेख गरिएको छ । ७ गतेसम्म अवस्था नियन्त्रणमा नआए अर्को निर्णय गरी थप सेवा सङ्कुचन, विस्तार वा अवधि थप गर्न समेत सकिने उल्लेख गरिएको छ । यसैबिच सल्यानमा बुधवार थप २९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

बुधवार ४८ को ऐन्टिजेन परीक्षण गर्दा २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।  जिल्लामा हाल सय जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डि।सीले जानकारी दिए ।

सङ्क्रमित मध्ये आज ३ जना निको भएर डिस्चार्ज भएका छन् । २०७८ वैशाख देखि हालसम्म २ हजार ३ सय ३३ जना डिस्चार्ज भइसकेका छन् । वैशाखदेखि हालसम्म ५३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म जिल्लामा ६ हजार ५ सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ८ सय ८ जनाको कोरोना पोजेटिभ देखिएको छ भने वैशाख देखि हालसम्म  १ हजार ३ सय ६५ जनाको पीसिआर परीक्षण गर्दा ६ सय ७८ मा पोजेटिभ देखिएको छ ।