पूनम पाण्डेलाई अन्तरिम सुरक्षा

0
Shares

बलिउड अभिनेत्री पुनम पाण्डेलाई मंगलबार भारतको सुप्रिम कोर्टले अश्लील भिडियोको मामलामा गिरफ्तारीविरुद्ध अन्तरिम सुरक्षा दिएको छ। अभिनेत्री शिल्पा शेट्ठीका पति राज कुन्द्रासँग जोडिएको उक्त मामलामा वकिल विनित सरन तथा बीबी नागरन्तको बेन्चले पूनमले दिएको याचिकामाथि आदेश जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अदालतले अपीलकर्ता अर्थात् पुनमविरुद्ध कुनै पनि दण्डात्मक कारबाही नहुने सूचना जारी गर्न आदेश दिएको छ।

पुनमको यो मुद्दा मधुकर कृष्ण केनी नामक एक व्यक्तिले केही वेबसाइट तथा अनलाइन प्लेटफर्मविरुद्ध गरेको शिकायतपछि बाहिर आएको थियो। जसमा उनले त्यस्ता वेब साइटमा पुनम पाण्डे, शर्लिन चोपडाजस्ता अभिनेत्रीहरूको अश्लील सामग्री रहेको उल्लेख गरेका थिए। त्यसपछि पुनमलगायत केही व्यक्ति पोर्न र्याकेट केशमा मुछिएका थिए।

२०२१ मा पोर्न र्याकेट केसमा अग्रिम जमानतका लागि अदालतको ढोका ढकढकाउन पुगेकी पूनमको याचिका बम्बे हाई कोर्टले खारेज गरिदिएपछि उनी सुप्रिम कोर्ट पुगेकी थिइन्। उनले आफ्नो याचिकामा यस्ता खालका साइट तथा एपको आफू भागिदार तथा मालिक नभएको र यस मामलामा आफू आरोपी नभई पीडित भएको उल्लेख गरेकी थिइन्। साथै, अश्लील बेवसाइटमा राखिएको आफ्ना भिडियोहरू सन् २०१५ मा नै केन्द्र सरकारद्वारा ब्लक गरिएको दाबी गरेकी थिइन्।