धुलिखेल र खुम्बु पासाङल्हामुबीच भगिनी सम्बन्ध

जलवायू परिवर्तनको प्रभाव कम गर्न सामूहिक पहल गर्ने

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बागमती प्रदेशमा रहेको काभ्रेपलाञ्चोक जिल्ला स्थित सदरमुकाममा रहेको धुलिखेल नगरपालिका र प्रदेश नम्बर १ मा रहेको खुम्बु पासाङल्हामु गाउँपालिका बीच भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारी भएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु र खुम्बु पासाङल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासील्हमु शेर्पा बीच समझदारी पत्रमा मंगलबार धुलिखेलमाहस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल र गाउँपालिका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन बुढाथोकीले हस्ताक्षर गर्नु भएको छ ।

धुलिखेल नगरपालिका र खुम्बु पासाङल्हामु गाँउपालिकाबीचको पूर्व साझेदारीअन्तर्गत दुई पालिकाका जनताबीच द्विपक्षीय सम्बन्ध तथा मित्रतालाई बढवा दिई मित्रवत् सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले दुवै पालिकाकोको नगर/गाउँ कार्यपालिकाको निर्णयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ उपदफा (ट) अनुसार अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना र विस्तार गर्न सक्ने भएकोले केही उद्देश्य प्राप्तिका लागि भगिनी सम्बन्ध स्थापना गरिएको समझदारी पत्रमा उल्लेख गरिएको छ ।

दुवै पक्षले आफ्नो परिधि तथा नियम कानुनमा आधारित रही कृषि, व्यापार, पर्यटन, संस्कृति, शिक्षा, व्यक्तित्व विकास, पारस्परिक संवृद्धि, व्यवसायी क्षमता अभिवृद्धि लगायत विविध क्षेत्रहरूमा सक्रिय तथा प्रभावकारी रूपमा सहयोग आदान–प्रदान तथा सहकार्य अभिवृद्धि गर्दै दुवै तर्फको साझा समृद्धि तथा विकास प्रवर्द्धन गर्ने, समझदारी पत्रको अवधारणा कार्यान्वयनलाई सहजीकरण तथा सहयोग गर्न दुवै पक्षहरुले एक अर्काका सम्बन्धित व्यक्ति तथा विभाग/शाखा/इकाईहरू सँग उपयुक्त माध्ययमबाट नियमित सञ्चार सम्पर्क स्थापित गरी सान्दर्भिक सूचनाको आदान प्रदानद्वारा निकट सम्पर्क तथा सम्बन्ध कायम राखी साझा कुराहरूमा समन्वय गर्न क्रियाशील रहने, पक्षहरूले स्थानीय सरकारका जिम्मेवारीहरू व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक कानून, नीति, कार्यविधि, मापदण्डको तर्जुमा, कार्यान्वयन तथा सामयिक परिमार्जनमा एकरूपता कायम गर्ने सम्बन्धमा पारस्परिक सहयोग र सहकार्य गर्न सदैव प्रयत्नरत गरिने उल्लेख गरेको छ ।

त्यस्तै विश्वको शिखर सगरमाथा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको पर्यटकीय विकास र जलवायू परिवर्तनको प्रभाव कम गर्न सामूहिक पहल गरिने, धुलिखेल नगरपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको सांस्कृतिक, विकास, शून्य कार्बन उत्सर्जन, पर्यापर्यटनविकास गर्न आपसी समझदारीमा अध्ययन तथा व्यावसायिक साझेदारीतामा जोड दिइने, दुवै पक्ष दुवै पालिका क्षेत्रमा समान रूपले लागू हुने प्रकृतिका एक अर्काको अनुकरणीय कार्यको अनुभव र अभ्यासको अध्ययन र अनुसरण गर्दै सह–समृद्धि र विकासमा आफ्ना प्रयत्नहरू केन्द्रित गर्न प्रतिबद्धता गर्ने, दुवै पक्ष दुवै पालिकाको व्यावसायिक क्षमता अभिवृद्धिका लागि सम्बन्धित नगरको उद्योग वाणिज्य लगायतका निजी क्षेत्रको साझेदारीमा कार्य सञ्चालन गर्न कृयाशिल रहने र भगिनी सम्झौता सम्बन्धित निकायबाट स्वीकृति लिई दुवै पालिकाका सम्बन्धित अधिकारीहरूको उपस्थितिमा सम्पन्न गरिने उल्लेख गरिएको छ । नगरपालिका अध्यक्ष अशोक ब्याञ्जुले समझदारी पत्रमा उल्लेख भए अनुसार दुवै पालिकाको विकास र समृद्धिका लागि सहकार्य गर्ने बताउनु भयो ।