ओमिक्रोन संक्रमितले यसरी बढाउन सक्छन् शरीरमा अक्सिजनको मात्रा



न्युज अफ नेपाल, काठमाडौं ।

विश्वभर पछिल्लो समय काेभिड- १९ को नयाँ भरियन्ट ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने विज्ञहरुको भनाई छ ।

अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ओमिक्रोनले कोरोना खोप लगाएका-नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ । सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गा-हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ । ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने छन् । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ ।

हिजोआज कोरोना संक्रमितका लागि भन्ने बित्तिकै अस्पतालमा ठाउँ पाइन्नँ। जसकारण अधिकांश बिरामीहरू घरमै बस्नुपर्ने बाध्यता छ। तर घरमै बसिरहँदा बिरामीको जुनसुकै बेला पनि अक्सिजनको मात्रा घट्न सक्छ र अक्सिजन दिनुपर्ने हुनसक्छ। यस्तो बेलामा विरामीलाई घोप्टो आसनमा सुताउन सके अक्सिजन मात्रामा सुधार ल्याउन सकिने छ । यो विधिलाई अङ्ग्रेजीमा ‘अवेक प्रोनिङ’ भनिन्छ। तर यो विधि कसरी गर्ने भन्ने ख्याल गर्नुपर्छ। त्यसका लागि सुरूमा तीन वटा सिरानी चाहिन्छ।

पहिलो तरिका : सुरुमा घोप्टो परेर सुत्‍ने । त्यसपछि दुई वटा सिरानी वा तकिया लिने । एउटालाई गर्धनको मुनी र अर्काे घुँडामुनी राख्‍ने । छातीको मुनी सिरानी पनि राख्‍न सकिन्छ ।  त्यस्तै टाउको बायाँ वा दायाँ पट्टी फर्काएर घोप्टो परी सुतेर यो अभ्यास गर्न सकिन्छ ।  त्यस्तै हातहरूलाई टाउको नजिकै फिजाएर राख्‍ने र त्यसपछि बिस्तारै गहिरो-गहिरो सास लिने ।

दोस्रो तरिका : कोल्टो परेर सुत्दै दायाँ वा बाँया हातलाई खुम्चाएर टाउको मुनी सिरानीको रूपमा राख्‍ने । त्यस्तै खुट्टालाई खप्ट्याएर राखेर पनि प्रोनिङ गर्न सकिन्छ ।

तेस्रो तरिका : सिधा भएर बस्‍ने । दुवै खुट्टालाई एक आपसमा जोडेर राख्‍ने । कम्मरलाई ९० डिग्रीमा नराखी लगभग १२० डिग्रीमा झुकाएर राख्‍ने ।

यस्ताे उपायहरु अपनाउँदा विरामीको अक्सिजनको मात्रा सुधार हुने सम्भावना सबैभन्दा बढी हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्