लुम्बिनी राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको जित सुनिश्चित भएको उम्मेदवारको दाबी

0
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित भएको बताएका छन् । सत्तारुढ गठबन्धनका उम्मेद्वारहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूहरूको जित निश्चित भएको दाबी गरेका हुन ।

लोकतन्त्र, संविधानको रक्षा, राजनीतिक स्थिरताका लागि कानुनी र संवैधानिक रक्षाका लागि गठबन्धन बनेको बताउँदै राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारले अंकगणितका हिसाबले पनि सहजै जित निकाल्ने उम्मेदवारहरुको भनाई रहेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट बाँकेका नेपाली कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा उत्रेका छन् ।

पत्रकार सम्मेलनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जनाले आफूहरूले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । काँग्रेसबाट उम्मेदवार हुनु भएका शर्माले बिपीबाट प्रभावित भएर २०३० सालमा काँग्रेस बाँकेको सचिव भएर राजनीति शुरु गरेको बताउनु भयो ।

पाल्पाकी राजेन्द्रलक्ष्मी गैरैले २०३६ सालदेखि राजनीतिमा लागेर अहिले पार्टीले आफ्नो योगदानको मूल्याङ्कन गरेको बताउनु भयो । अर्का उम्मेदवार राष्ट्रिय जनमोर्चाका तुलबहादुर विश्वकर्माले आफूले राजनीतिमार्फत समाजमा रहेका विभेद र सामाजिक न्याय स्थापित गर्न लागि परेको बताउनु भयो ।

२ सय ९६ मतदाता 

लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ । यहाँ प्रदेशसभाका ८१ र पालिकाका प्रमुख उपप्रमुख २१५ जना गरी २ सय ९६ जना कुल मतदाता छन् ।

यसमध्ये लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ मतभार देखिन्छ ।