दिनहुँ अस्पताल पुग्दै मन्त्री लामा

0
Shares

न्युज अफ नेपाल, हेटौँडा । 

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले भक्तपुरका २ स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको छ । लामाले भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण गर्नुभएको हो । लामाले भक्तपुर अस्पतालले कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचारमा गरिरहेको कामबारे निरीक्षण गर्नुभयो ।

जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले प्रवाह गरिरहेको उपचार सेवाबारे समेत मन्त्री लामाले जानकारी लिनुभएको थियो ।
निरीक्षणपछि मन्त्री लामाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेकाले उपचारका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।

उहाँले मन्त्रालय कोरोना संक्रमणको जोखिम न्यूनीकरण, रोकथाम एवम् संक्रमितको उपचारमा दृढ रहेको भन्दै मन्त्रालयले सबै खाले व्यवस्थापन गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । मन्त्री लामालाई भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र प्रमुख डा. नरेन्द्र गिरीले स्वास्थ्य संस्थाले गरिरहेका तयारी र नियमित कामबारे अवगत गराउनुभएको थियो ।

शनिबार र आइतबार काभ्रे र सिन्धुपाल्चोक पुग्नुभएका मन्त्री लामाले सोमबार भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण गर्नुभएको हो ।