न्युज अफ नेपाल, जनकपुर ।
प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुई मा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम घोषणा भएसँगै उक्त प्रदेशमा बिदा दिइएको हो । प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा दुई तिहाई भन्दा बढी मतले पारित भएको हो ।
प्रदेश सभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ ।
मधेश सरकारले नाम र स्थायी राजधानी पाएको खुसीयालीमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलबार प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
प्रतिक्रिया