गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना कारण उपकरण जडानमा ढिलाइ

आउँदो वैशाखदेखि नियमित उडान भर्ने तयारी 


यमलाल भुसाल, बुटवल । 

पाँच वर्ष अघि पूरा गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सातौंपटक म्याद थपपछि बल्ल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) का लागि तयार भएको बताइएको छ ।

२०७१ साल माघ १ गते विमानस्थल निर्माणको शिलान्यास हुँदा २ वर्ष १० महिना अर्थात् २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य राखिएको थियो । दुई वष १० महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त विमानस्थल ७ वर्ष पूरा हुँदा समेत परीक्षण उडान नहुँदा हरेक क्षेत्रबाट टिका टिप्पणी हुन थालेको छ । पटक पटक म्याद थप्दै यसअघि सन् २०२० को सुरुमा नियमित उडान गर्ने भनिएको विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाइ भएकाले परीक्षण उडानमा ढिला भएको आयोजनाले जनाएको छ ।

तर अहिले सबै उपकरणहरू जडान भइसकेकाले परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको राष्ट्रिय गौरवको आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले बताउनु भयो ।  मौसममा सुधार भएपछि परीक्षण उडान थालिने र नेपाली नयाँ वर्ष २०७९को वैशाखदेखि नियमित उडानको तयारी भएको न्यौपानेले बताउनु भयो । ‘सबै उपकरणहरू जडान भइसकेका छन्, कम्तीमा ६ देखि ८ घण्टा मौसम सफा भयो भने परीक्षण उडान गर्छौँ’– न्यौपानेले भन्नु भयो–‘परीक्षणपछि नियमित उडानका लागि अस्ट्रियाको भियना र एरो थाईका प्राविधिकहरूले उपकरण सञ्चालन सम्बन्धी तालिम दिन पनि सुरु भइसकेको छ ।’

परीक्षण उडानका लागि प्राधिकरणले जिम्मा दिएको एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई) का प्राविधिक विमानस्थलमा आएर परीक्षण उडानको अध्ययन गर्न आए पनि मौसम खराबीका कारण अध्ययन नगरी पुनः थाइल्यान्ड फर्किएका थिए । मौसममा सुधार आएपछि मात्र एरोथाइका प्राविधिकले जहाज लिएर आउने र परीक्षण उडान हुने न्यौपानेले बताउनु भयो । विमानस्थलको आईसीबी १ अन्तर्गतका सबै पूर्वाधार बनिसके पनि परीक्षण उडान नहुँदा हस्तान्तरण गर्न ढिला भएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनु भयो । ‘अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति करिब शतप्रतिशत पूरा भई परीक्षण उडानका लागि तयार छ’–अधिकारीले भन्नु भयोे–‘ परीक्षण उडान नहुँदा विमानस्थल हस्तान्तरण गर्न नपाएको समेत औँल्याउनु भयो ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा विमानस्थल निर्माण सुरु भएको हो । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा विमानस्थल निर्माणको ठेक्का पाएको थियो । आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएको थियो । आइसिपी–१ अन्तर्गत धावनमार्ग, आधुनिक टावर, सुरक्षा भवन, विमानस्थल सडक, घांघरा नदी डाइभर्सन, पार्किङ वे, आप्रोन, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन लगायतका संरचनाहरूको  काम सकिएको विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको शिलान्यास गर्नु भएको थियो । ६० मिटर चौडाइ र ३ किलोमिटर धावन मार्ग, १९सय  मिटरको ट्याक्सी वे रहेको विमानस्थलमा ५ वटा  वाइड बोडी जहाज पार्किङ गर्न सकिने छ । अहिलेको टर्मिनल भवन ४हजार ५ सय जना यात्रु क्षमताको रहेको छ ।  अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि १ सय ५१ जना कर्मचारीको दरबन्दी पनि स्वीकृति भएको कार्यालयले जनाएको छ ।