मिसेस वर्ल्डको ताज अमेरिकी सुन्दरीलाई


विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ३७ वर्षीया अमेरिकी विवाहित सुन्दरी शेलिन फोर्डले मिसेस वल्र्ड २०२२ को उपाधि चुमेकी छिन्।

अमेरिकाको लस भेगासमा हालै सम्पन्न समारोहमा मिसेस अमेरिकन २०२१ की विजेता अमेरिकाको ग्रानभिल निवासी शेलिनले अन्य देशका ५७ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेकी हुन्।

सन् २०२० की मिसेस वल्र्ड विजेता तथा मिसेस आयरल्याड केट स्नाइडरले उनलाई मिसेस वल्र्डको ताज पहिरिदिएकी थिइन्। शेलिन व्यावसायिक मेकअप आर्टिस्ट हुन्। फिल्मलगायत विभिन्न क्षेत्रमा मेकअप आर्टिस्टको रूपमा काम गर्दै आएकी उनी समाजसेवामा पनि सक्रिय छिन्।

७ वर्षअघि पास्टर पतिका साथ विवाह गरेकी उनको तीन जना छोराछोरी छन्। प्रतियोगितामा यूएईकी देवाञ्जली कामास्त्रले फस्ट रनर्सअपको ताज चुमिन्। उनले मिसेस वल्र्डमा पहिलोपटक युएईको प्रतिनिधित्व गरेकी हुन्। त्यस्तै, मिसेस जोर्डन ज्याकलिन स्टाप सेकेन्ड रनर्सअप भएकी छिन्। मिसेस वल्र्ड सन् १९८४ देखि आयोजना हुँदै आएको विवाहित महिलाहरूको प्रतिस्पर्धा हो।