हेटौंडाका जेनिस भ्वाइस अफ किड्स


हेटौंडा।

हेटौंडामा जन्मिएर चितवनको खैरहनी नगरपालिकामा बसोबास गर्दै आएका जेनिस उप्रेतीले १५ वर्षमुनिका बालबालिकाको गायन रियालिटी शो द भ्वाइस किडस् २०२१ को उपाधि जितेका छन्।

उनी खैरहनीको मोडर्न बोर्डिङ स्कुलका विद्यार्थी हुन् उनलाई भोट दिन हेटौंडामा अभियान नै चलाइएको थियो। शनिबार राति भएको फिनालेमा जेनिसले कोच प्रमोदको टिमबाट उपाधि जित्न सफल भएका हुन्। मकवानपुरमा जन्मिएर, झापापछि चितवनको खैरहनीस्थित मोडर्न स्कुलका जेनिस पढाइमा पनि अब्बल छन्। फाइनलमा पुगेका ८ प्रतिस्पर्धीलाई पछि पार्दै जेनिस भ्वाइस अफ किड्स नेपाल बनेका हुन्। विजेता भएवापत उनले १५ लाख रुपियाँ पुरस्कार प्राप्त गरेका छन्।

उनीसँगै फिनालेमा टिम प्रमोदकै रुक्सना लिम्बू, टिम राजुबाट सुप्रिम मल्ल ठकुरी र पासाङ डिक्की शेर्पा, टिम प्रविशाबाट अनुजा कडरिया र सुसमी गुरुङ, टिम मिलनबाट मिन्छामा राई र नुमा राईले प्रतिस्पर्धा गरेका थिए। द भ्वाइस् किड्स नेपालको पहिलो सिजनको डिजिटल अडिसनमा सहभागी २० हजारले आवेदन दिएका थिए। तीमध्येबाट एक सय जनालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइएको थियो। ब्लाइन्ड राउन्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए। त्यसबाट लाइभका लागि २४ जना छानिएका थिए। त्यसपछि अन्तिम १६ हुँदै आठजना फाइनलमा पुगेका थिए।

जेनिसले दर्शक, निर्णायक, परिवार, विद्यालय लगायतलाई धन्यवाद दिँदै आप्mनी आमाको सपना पूरा गरेको बताए। चार वर्षको उमेरदेखि गायन क्षेत्रमा लागेकाले उनकी आमाले छोरालाई गायक बनाउने सपना बोकेकी थिइन्। त्यो सपना पूरा गरेकोमा भावुक बन्दै जेनिसले खुसी साटे। उक्त प्रतियोगिताले आफ्नो गायकीलाई थप मलजल गरेको उनले बताए।

२०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा–१९, बस्तीपुरमा जेनिसको जन्म भएको हो। उनले आप्mनी आमालाई गत वैशाखमा गुमाएका थिए। उनकी आमाको क्यान्सरसँगै कोरोना संक्रमणका कारण निधन भएको थियो। उनकी आमाले निधनअघि आफन्त र शुभचिन्तकलाई ‘छोरालाई गायक बन्ने रुचि छ, गायक बन्न प्रेरणा दिनुहोला’ भनेकी थिइन्। बुबा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन्। उनी खैरहनी–८, पर्सामा बस्दै आएका छन्।