मनोरञ्जन क्षेत्र माघ १५ गतेसम्म बन्द, सपिङ मलमा २५ र पार्टी हलमा ५० जनालाई मात्र प्रवेश

0
Shares

काठमाडौं, (नेस) ।

सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर क्लब, हेल्थ क्लब, पटके हाटबजार, जिम हल बन्द गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।

उहाँले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको बताउनुभयो । मन्त्रिपरिषद्को सोही बैठकले यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरूलाई समेटेर माघ मसान्तसम्म लागू हुने गरी विभिन्न आदेश जारी गरेको छ ।

मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद्ले माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेन्ट स्टोरहरूमा एकपटकमा २५ जनाभन्दा बढी मान्छेहरूको भीड नहुने गरी सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने लगायतका निर्णय गरेको छ ।

पार्टी प्यालेसहरूले विवाह, व्रतबन्ध जस्ता धार्मिक तथा सांस्कृति कार्य सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर कूल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुने गरी चलाउनुपर्नेछ । बैठकले मठ–मन्दिर, गुम्बालगायतका धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै नित्यपूजा/ध्यान मात्र गर्ने व्यवस्था मिलाउन आदेश दिने निर्णय गरेको छ ।

बैठकले पूर्वनिर्धारित विश्वविद्यालय र जनशक्ति भर्ना सम्बन्धी परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने, तर नियमित पठनपाठनलाई भने भर्चुअल माध्यमबाट सञ्चालनका लागि प्रोत्साहित गर्ने निर्णय समेत गरेको छ ।