सांगीतिक संघमा पुनः मोक्तान



नेपाल सांगीतिक संघको नेतृत्वमा मिलन मोक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। संघको हालै सम्पन्न २२औं साधारणसभाले पुनः मोक्तानकै अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा गायक तथा वाद्यवादक खर्कबहादुर बुढा र संगीतकार आशिष अविरल, महासचिवमा गीतकार सुमन वैरागी, सचिवमा संगीत संयोजक विनोद कुमार भुजेल र कोषाध्यक्षमा गायक विमल श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा नृत्यांगना आशा गौतम, गायिका सीता केसी, पूर्णिमा लामा, सूर्य कुमारी जोशी, गीतकार गणेश चौलागाईं, निर्देशक तथा कोरियोग्राफर राजीव बलामी, गायक खगेश्वर रञ्जितकार चयन भएका छन्। कानुन व्यवसायी रमेश कोइराला निर्वाचन अधिकृत रहेको साधारण सभामा सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोधरूपमा निर्वाचित गरेको हो।

साधारणसभा पूर्वराज्यमन्त्री तथा गायक रामवीर मानन्धरको प्रमुख आतिथ्यता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघ नेपाल अध्यक्ष शुभ मुकारुङ, गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, संगीतकार किशोर गुरुङ, गायक तथा संगीतकार दीप तुलाधर, गायक लाक्पा शेर्पालगायतको आतिथ्यता सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्