विन्टर इन्टेक कोड क्याम्प शुरू



काठमाडौं (नेस) ।

इन्फो डेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प शुरू भएको छ । आइएमइ पे, स्विफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजना भइरहेको विन्टर इन्टेक कोड क्याम्प हेरिटेज गार्डेनमा एक कार्यक्रमको आयोजना गरी शुरू भएको हो । कार्यक्रममा २ सय बढी विद्यार्थीको सहभागिता रहेको छ । कोड क्याम्पका लागि ४ सय बढी विद्यार्थीको आवेदन दिएका थिए । पहिलो चरणबाट २ सय बढी विद्यार्थी छानिएर रुचि भएको प्रोग्रामिङको समूहमा सहभागी भएर प्रोजेक्ट तयार गर्नेछन् ।

छनोटमा परेका एक सय प्रतिस्पर्धीहरू स्किल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुनेछन् । उनीहरूलाई माघ ३ गतेदेखि चैत ३ गतेसम्म २ महिना कम्पनीमा रहेर इन्टेक ट्रेनिसिप कार्यक्रममा सहभागी गराइने आयोजकले जानकारी दिएको छ । चैत १७ गतेदेखि आयोजक कम्पनीहरूले उत्कृष्ट ५० देखि एक सय विद्यार्थीलाई नियमित रूपमा रोजगारीको अवसर प्रदान गर्नेछन् । आइटी उद्योग र एकेडेमी बीचको एक महत्वपूर्ण सहकार्य र दायित्वको रूपमा यो कार्यक्रम विकास गरिएको आयोजक इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताउनुभयो ।

यसले नेपालको डिजिटल इकोसिस्टमको विकासमा पनि सघाउ पुर्याउने उहाँले बताउनुभयो । आइटी उद्योगमा पछिल्लो समय दक्ष जनशक्तिको अभाव भइरहेको कारण आइटी कम्पनीहरूले यस किसिमको कार्यक्रमको आयोजना गरेर दक्षता विकास गर्दै अवसर प्रदान गर्नु अत्यन्त राम्रो काम भएको क्यान महासंघका पूर्व अध्यक्ष तथा ग्रिन आइटी सोलुसनका अध्यक्ष विनोद ढकालले बताउनुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्विफ्ट टेक्नोलोजीका सीईयो रघु भण्डारीले नयाँ प्रतिभाहरू पहिचान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको जानकारी दिए ।

यस कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका ४० बढी कलेजहरूबाट विद्यार्थीहरूको सहभागिता रहेको छ । सातौं तथा आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि तयार पारिएको यो कार्यक्रममा सहभागी हुन पाउनु महत्वपूर्ण उपलब्धि भएको विद्यार्थीहरूले बताए । क्याम्पमा सहभागी विद्यार्थीहरूले आइटी उद्योगमा चर्चित प्रोग्रामिङ ल्याङ्वेज र डिजाइनमा समेत आफ्नो सिप देखाउँदै थप सिक्ने अवसर प्राप्त गर्नेछन् ।

जाभा, रियाक्ट, डटनेट, एंगुलर, लाराभेल, एन्ड्रोइड तथा आइओएस एप डेभलपमेन्ट, एआई, डेटाबेस, युएक्सयुआई डिजाइन, ग्राफिक्स डिजाइन, पाइथन, फ्लटर, पीएचपी, बिजनेस एनालिस्ट लगायतमा छुट्टाछुट्टै समूह बनाएर ट्रेनिसिप प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्