न्युज अफ नेपाल, सिमकोट ।
आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन् ।
सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन । सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए । हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन् ।
टिकट काटे पनि हिमपातका कारण गन्त्व्यमा पुग्न नसकिएको स्थानीय हेमन्त बोहराले बताउनुभयो । बोहरा नेपालगञ्ज हुँदै काठमाडौँ जाने तयारीमा रहनुभएको थियो । हवाई उडान बन्द भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन । नेपालगञ्ज र सुर्खेतबाट निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन ।
हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । खेती फष्टाउने भन्दै उनीहरु खुसी भएका हुन् । हिमपात हुँदा खेतबारीमा लगाएको गहुँ, जौ र उवा उत्पादन राम्रो हुने खार्पुनाथ गाउँपालिका–१ का मनोज विकले बताउनुभयो । हिमपातपछि उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । नाम्खाको चाला, यारी, तिल, जाङ्हल्जी, लिमी, मुचु र हिल्सामा बाक्लो हिमपात भएको छ ।
प्रतिक्रिया