उम्मेदवारलाई चुनाव चिह्न प्रदान



हेटौंडा ।

वागमती प्रदेशका राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ । राष्ट्रियसभामा वागमती प्रदेशबाट १ महिला र अन्य १ गरी २ जनाको पद रिक्त हुने हुँदा उक्त रिक्त पदमा माघ १२ गते हुने निर्वाचनको कार्यक्रमअनुसार आइतबार चुनाव चिह्न प्रदान गरिएको हो ।

नेकपा (एमाले) का उम्मेदवारहरू निरकुमारी कुँवर र गोपाल शाक्यलाई सूर्य, सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्ण पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमा तिमिल्सिनालाई क्रमशः रूख र कलम चिह्न प्रदान गरिएको छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङ र गीता काफ्लेलाई मादल चुनाव चिह्न प्रदान गरिएको छ ।

माघ १२ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान सञ्चालन हुनेछ । मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अंकगणितीय हिसाबले बलियो रहेको गठबन्धनविरुद्ध एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । नेमकिपाको उपस्थिति बलियो छैन ।

वागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि १ सय ९ प्रदेशसभा सदस्य र १ सय १९ स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता छन् । प्रदेशमा १ सय ९ प्रदेशसभा सदस्य र १ सय १९ स्थानीय तहका २ सय ३७ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय ४६ मतदाता छन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १ सय ९ प्रदेशसभा सदस्यको ५ हजार २ सय ३२ मतभार छ भने स्थानीय तहका २ सय ३७ प्रमुख तथा उपप्रमुखको ४ हजार २ सय ६६ मतभार छ । प्रदेशमा ३ सय ४६ जना मतदाताका ९ हजार ४ सय ९८ मतभार गणना हुनेछ ।

प्रदेशअन्तर्गत राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धन बलियो देखिएको छ । गठबन्धनमा आवद्ध दलका स्थानीय तहमा १ सय १८ मतदाता छन् । प्रदेशसभामा ५९ जना छन् । स्थानीय तहमा नेपाली कांग्रेसका ६७, माओवादी केन्द्रका ३४ र एकीकृत समाजवादीका १७ मतदाता छन् । प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ मतदाता छन् ।

स्थानीय तहमा कांग्रेसका ६७ जनप्रतिनिधिको १ हजार २ सय ६, माओवादीका ३४ जनप्रतिनिधिको ६ सय १२ र एकीकृत समाजवादीका १७ जनाको ३ सय ६ गरी कुल २ हजार १ सय २४ मतभार छ । प्रदेशसभामा कांग्रेसको १ हजार ५६, माओवादी केन्द्रको १ हजार १ सय ४, नेकपा (एकीकृत समाजवादी) को ६ सय २४ र जसपाको ४८ गरी कुल २ हजार ८ सय ३२ मतभार छ । प्रदेशमा गठबन्धनका स्थानीय तह र प्रदेशसभा सदस्य गरी कुल १ सय ७७ मतदाताबाट ४ हजार ९ सय ५६ मतभार छ । प्रमुख प्रतिपक्ष दल एमालेको प्रदेशसभामा ४३ र स्थानीय तहमा १ सय १५ गरी १ सय ५८ मतदाता छन् । जसमा प्रदेशसभाबाट २ हजार ६४ र स्थानीय तहबाट २ हजार ७० मतभार गणना हुनेछ ।

एमालेसँग स्थानीय तह र प्रदेशसभाको कुल मतभार ४ हजार १ सय ३४ मतभार छ । गठबन्धनसँग ४ हजार ९ सय ५६ मतभार रहेकाले एमालेसँग जितका लागि आवश्यक मत पुग्दैन । एमालेलाई चुनावी मैदानमा नहोमिएका वागमती प्रदेशका साना दलले मत दिए पनि जितका लागि आवश्यक मत पुग्ने सम्भावना छैन ।

प्रदेशका स्थानीय तहमध्ये ४ स्थानीय तहमा साना दलको नेतृत्व छ । जसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २ र अर्को २ तहमा नेमकिपाको नेतृत्व छ । नेमकिपा भने चुनावी मैदानमा होमिएको हुँदा एमालेलाई सघाउने सम्भावना छैन । राप्रपाले मत दिए पनि एमालेलाई पुग्दैन ।

प्रदेशसभातर्फ साना दलका ७ मतदाता छन् । नेमकिपाका २, राप्रपाका २ र विवेकशील साझाका ३ मतदाता छन् । प्रदेशमा साना दलसँग प्रदेशसभाका ७ र स्थानीय तहका ४ जना गरी ११ मतदाता छन् । राप्रपा र विवेकशीलको स्थानीय तह र प्रदेशभामा कुल २ सय ७६ मतभार छ । यी दुई पार्टीले एमालेलाई समर्थन गरे पनि जित्ने सम्भावना छैन । राष्ट्रियसभाको वागमती प्रदेशमा महिलातर्फ उजया शर्मा पौडेल र अन्यतर्फ राधेश्याम अधिकारीको पदावधि सकिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्