थ्रीस्टारको जारी लिगमा तेस्रो जित



काठमाडौं ।

ललितपुरको चर्चित टिम थ्रीस्टार क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो जित हात पारेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध थ्रीस्टारले २–० को जित निकालेको हो । एक आत्मघाती गोल र अन्तिममा १० मिनेट थपिएको इन्जुरी समयमा भएको गोलले थ्रीस्टारले जित हात पार्यो ।

खेलको ५७ औं मिनेटमा ऋतिकको फितलो प्रहार अमित श्रेष्ठको खुट्टामा लाग्दै गोल भएको थियो । उक्त आत्मघाती गोलको सहयोगमा थ्रीस्टार खेलमा १–० को अग्रतामा पुगेको थियो । त्यसपछि अन्सुमाना क्रोमाहले इन्जुरी समयमा गोल गरेपछि थ्रीस्टारको जित सुनिश्चित भएको थियो ।

थ्रीस्टारको जारी लिगमा यो तेस्रो जित हो भने लगातार दोस्रो जित पनि हो । अघिल्लो सातौं चरणमा थ्रीस्टारले जावलाखेललाई २–१ ले हराएको थियो । यसअघि, पहिलो चरणमा थ्रीस्टारले च्यासललाई ३–० ले हराएको थियो ।

यो नतिजापछि थ्रीस्टारको ८ खेलबाट १३ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । थ्रीस्टार शीर्ष स्थानको टिम मच्छिन्द्र क्लब भन्दा ६ अकंले पछि छ । योसँगै थ्रीस्टारको उपाधि आशा जीवितै रहेको छ । थ्रीस्टारले ४ खेल बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । उक्त हार जारी लिगकै स्तब्ध नतिजा पनि हो । नवप्रवेशी टिम सातदोबाटो युथ क्लबसँग थ्रीस्टार दोस्रो चरणमा १–० ले स्तब्ध बनेको थियो ।

थ्रीस्टारले मच्छिन्द्र, मनाङ, संकटा, ब्रिगेड ब्वाइज र पुलिससँग खेल्न बाँकी छ । उता हिमालयन शेर्पाको यो जारी लिगमा तेस्रो हार हो । यो हारपछि हिमालयन शेर्पा ८ खेलमा ११ अंकसहित छैटौं स्थानमा झरेको छ । टिमले ३ खेलमा जित हात पारेको छ भने २ खेलमा बराबरी नतिजा आत्मसात् गरेको छ ।

थ्रीस्टारको नतिजा
च्यासलविरुद्ध ३–० को जित
सातदोबाटोविरुद्ध १–० ले पराजित
फ्रेन्डस्विरुद्ध १–१ बराबरी
एपीएफविरुद्ध गोलरहित बराबरी
एनआरटीविरुद्ध गोलरहित बराबरी
आर्मीविरुद्ध गोलरहित बराबरी
जावलाखेलविरुद्ध २–१ को जित
हिमालयनविरुद्ध २–० को जित

प्रतिक्रिया दिनुहोस्