वर्ल्ड कम्युनिकेटर्स काउन्सिलमा पुनः पन्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

आम सञ्चारका क्षेत्रमा भएका गतिविधिको निगरानी तथा अनुसन्धानबाट प्राप्त ज्ञान आदान–प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टरका रुपमा रहेको वर्ल्ड  कम्युनिकेटर्स काउन्सिलको शनिबार राजधानीमा सम्पन्न साधारणसभाले सञ्चारविद् लक्ष्मणदत्त पन्तको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरुको यस संस्थाले वरिष्ठ उपाध्यक्षमा नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई चयन गरेको छ भने उपाध्यक्ष अनिता बिन्दु, सचिव उमेश पोखरेल, सहसचिव डा. कृति भुजु र कोषाध्यक्ष आरती शिल्पकार छानिनुभएको छ । यसैगरी, सदस्यहरु राधा खनाल, अमरध्वज तामाङ र तुला अधिकारी हुनुहुन्छ ।

पब्लिक रिलेसन्स काउन्सिल अफ इण्डिया (पिआरसिआई)को संयोजन र सहजीकरण रहेको वर्ल्ड कम्युनिकेटर्स काउन्सिलमा युएई, श्रीलंका र बंगलादेश पनि सदस्य छन् । नेपालमा दुई वर्षअघि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पिआरसिआईका प्रतिनिधिहरुका बीच वर्ल्ड कम्युनिकेटर्स काउन्सिल नपाल च्याप्टरको उद्घाटन गर्नुभएको थियो ।

पिआरसिआईको मुख्य लक्ष्य आम सञ्चार जगत्का व्यवसायी, शिक्षाविद्, अनुसन्धानकर्ता र अध्येताहरुबीच ज्ञानको आदान–प्रदान गर्नु रहेको छ । साथै, यसले विश्वमा मिडिया जगत्मा भएका गतिविधिको अनुगमन गर्दै सदस्यहरुलाई जानकारी पनि गराउँछ ।