लकडाउन गर्नेबारे सीसीएमसी बैठकमा छलफल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)मा लकडाउन गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा शुक्रबार बसेको सीसीएमसीको बैठकमा स्मार्ट लकडाउनबारे छलफल भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । तर यसबारे अवस्था हेरेर पछि निर्णय लिनेबारे छलफल भएको उनले बताए ।

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका थिए । आजको बैठकमा कोभिडको बढ्दो दर र विश्वमा कहाँ-कहाँ ओमिक्रोन कसरी वृद्धि भइरहेको छ भन्ने लगायतका विषयमा छलफल भएको थियो ।

यस्तै बैठकमा प्रधानमन्त्री देउवाले कोरोनाको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । छलफलमा प्रधानमन्त्री देउवाले संक्रमण दर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट शुक्रबार एकैदिन ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भने आज नै थप २४ जनामा ओमिक्रोन संक्रमण समेत पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।